बीसौं शताब्दीलाई सर्वाधिक प्रभावपार्ने दुवै विश्वयुद्धका गोर्खाली लडाकूहरू रणमैदानका अग्रभागमा खटिए।
घरपरिवारभन्दा निकै पर अनिश्चित भविष्य बोकेर हिँड्दै गर्दा उनीहरू रंगीबिरंगी सपनाहरूको संसार बनाउने काम पनि गर्थे। भय र सपना बीचको यो कल्पनाशीलताबाटै लाहुरेहरूले अनगिन्ती गीतहरू जन्माएका थिए।
त्यस्ता लडाकूहरू युद्धभूमिबाट फर्किएर आउँदा अनुभव र पैसा बोकेर मात्र आएनन्, एकसेएक गीतहरू पनि नेपाली समाजलाई कोसेली ल्याइदिए।
ती कोसेलीमध्येकै एउटा सिर्जना अर्थात् नेपथ्यको कान्छो प्रस्तुती अब उसको दसौं एल्बमको अन्तिम गीत बनेको छ।
‘नैनताल... नैनताल
घुमिआयो रेल
आँखामा लाउने कालो गाजल
बुलबुलेमा तेल... नैनताल’
आम प्रचलनमा त्यति नआएको ‘नैनताल’ लाहुरेहरूले भारतको ‘नैनीताल’ लाई दिएको नाम हो। बुलबुले भन्नाले कपालको ‘जुल्फी’ बुझिन्छ।
यस गीतलाई नेपथ्यले आफ्नो दसौं एल्बम रेकर्ड गर्दाको क्रममा सन् २०१५ मै रेकर्ड गरिसकेको थियो।
यो गीत आधिकारिक रूपमा हालसम्म सार्वजनिक नभए पनि नेपथ्यले विभिन्न मञ्चमा यसलाई प्रस्तुत गर्दै आएको छ। आफूसँग संकलनमा रहेको यो गीतलाई नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङले थप अध्ययनसहित परिमार्जन गरेर तयार पारेका हुन्।
यस क्रममा उनले थुप्रै भूतपूर्व गोर्खा, तिनका सन्तान र गाउँलेहरूसँग भेटेका थिए। यसरी तयार भएको यो गीत पहिलोपटक लण्डन सहरको ओ टु एकेडेमी ब्रिक्सटनमा सन् २०१५ मा प्रस्तुत गरिएको थियो।
त्यो कन्सर्टताका गोर्खा परम्पराको इतिहासले दुई सय वर्ष टेकेको अवसर पनि जुरेको थियो। त्यसै संयोगमा नेपथ्यले सम्पूर्ण गोर्खा सैनिक परिवारलाई समर्पित गर्दै यो गीत प्रस्तुत गरेको थियो।
‘हाम्रो लोक संस्कृतिमा भित्रिएका लाहुरे स्वादको थुप्रै अभिव्यक्तिमध्येकै एउटा पाटो बर्णन गर्ने यो गीत पल्टनमा गएका मेरा काकाबा र मावल खलकले वर्षौदेखि गाउँदै आएका र मैले केटाकेटीदेखि सुन्दै आएको हुँ,’ अमृत भन्छन् ।
यस गीतले विशेष गरेर भारतीय गोर्खा रेजिमेन्टहरुमा उतिबेला निकै लोकप्रियता आर्जन गरेको वरिष्ठ संगीतकार विक्रम गुरुङ सुनाउँछन्। लोकप्रिय आधुनिक नेपाली गीतहरुका सर्जक गुरुङ स्वयं पनि गोर्खा परिवारसँग जोडिएका व्यक्ति हुन्।
‘नैनताल गीत मैले पहिलोपटक देहरादूनमा सुनेको थिएँ,’ सन् १९६३ ताकाको सम्झना गर्दै गुरुङ भन्छन्, ‘मेरा बाबा र परिवारसँगै म ब्यारेकमै बस्थेँ। सायद म प्राथमिक विद्यालय जाने उमेरको थिएँ। त्यसै बेला सुनेको त्यो गीतका अनेक संस्मरणहरू अहिले पनि मिठो याद बनेर मेरो सम्झनामा बसेको छ।’
उनका अनुसार विभिन्न जमघट र समारोहमा यो गीत गाइँदा गोर्खा सिपाहीका भएभरका कम्पनीको आवाज र नृत्य एकसाथ देख्न पाइन्थ्यो। यसरी यो गीतले सिंगो माहोललाई जीवन्त पारिरहेको हुन्थ्यो। कुनैकुनै विशेष समारोहहरूमा यस गीतलाई फौजीले प्रयोग गर्ने न्याउली बाजा (ब्यागपाइपर) को आवाजबाट प्रस्तुत गरिएको पनि गुरुङले उति बेला देहरादूनका ब्यारेकतिरै सुनेका थिए।
‘आज पनि कतैतिर नैनतालको धुन बज्दा मेरा पैतालाले स्वस्फूर्त भुइँ ठोक्न थाल्छन्,’ गुरुङ भन्छन्, ‘मेरो बाल्यकाललाई यस्तरी प्रभावित पारेको त्यो मिठो गीतलाई नेपथ्यले परिमार्जन गरी आम नेपाली श्रोतालाई सुनाउन लागेको जानकारी पाउँदा असाध्यै खुसी लागेको छ।’
यस गीतले समेटेको कालखण्ड र त्यसको आस्वादलाई जीवन्तता दिने प्रयास स्वरूप यसको रेकर्डिङ पनि पुरानै प्रविधि अर्थात् ‘वन टेक रेकर्डिङ’ मार्फत् गरिएको थियो। डिजिटल रेकर्डिङ सुविधा आउनुअघिको यो प्रविधिमा गायक र वाद्यवादकले एकसाथ गाउँदा गाउँदै र बजाउँदा बजाउँदै एकैपटक रेकर्ड सम्पन्न गरिन्छ। यसरी रेकर्ड गरिने गीत तुलनात्मक रूपमा कम सफा सुनिने भए पनि कृत्रिमतारहित अनि बढी जीवन्त हुने तर्क संगीतका पारखीहरू गर्छन्।
अमृतले यस गीतलाई पुरानै शैलीले रेकर्ड गर्ने इच्छा जाहेर गर्दा आफू आश्चर्यमा परेको यसका रेकर्डिस्ट एवं ‘साउण्ड इन्जिनियर’ इमन शाह बताउँछन्।
‘अमृत दाइ र नेपथ्यको यो सोच मेरोनिम्ति अवसर र चुनौती दुवै बन्न पुग्यो,’ शाह भन्छन्, ‘ब्याण्डका सदस्य र तिनका साजहरूलाई थुप्रै माइकहरूसहित एउटै कोठामा राखेर एकैपटकमा रेकर्ड गर्नुको आफ्नै चुनौती हुन्छन्। यसको न्यूनतम आवश्यकता भनेको पूर्ण रूपमा अभ्यस्त ब्याण्ड, प्राविधिक रूपमा सम्पन्न ठूलो स्टुडियो कोठा र यस्तो कामको भावना बुझ्ने संगीतकर्मी, प्राविधिक र व्यवस्थापनको सामूहिक बुझाइ नै हो।’
‘अहिलेका डिजिटल प्रविधिजस्तो यसको आवाज असाध्यै सफा नहोला,’ शाह थप्छन्, ‘तर साउण्ड इन्जिनियरका रूपमा धुनसँगै ब्याण्डका साथीहरू बीचको सामिप्यलाई समेट्न सक्नुलाई मैले उल्लेख्य ठानेको छु।’
‘रेकर्डिङको बेला सिंगो ब्याण्ड केवल मलाइ सुनाउन उभिएको छ र एकसाथ आइरहेका ती आवाजका साथै त्यो क्षणलाई म प्रविधिमा कैद गरिरहेको छु जस्तो भान परिरहेको थियो,’ शाहले अगाडि भने, ‘यसरी यो एल्बम प्रोजेक्टको रेकर्डिङ अनुभव मेरो जीवनकै एउटा महत्वपूर्ण क्षण बनेको थियो।’
यही महत्वलाई आत्मसात गर्दै नेपथ्य ब्याण्डको प्रवर्द्धन गर्दैआएको संस्था नेपालयले यसको म्युजिक भिडिओ ‘वन टेक रेकर्डिङ’का बेला संग्रह गरिएका दृश्यलाई जोडेर तयार पारेको छ।
यसमा देखिने दृश्य क्यामराका लागि अभिनय गरिएको नभइ रेकर्डिङ भइरहेकै क्षणलाई जस्ताको त्यस्तै प्रस्तुत गरिएको हो। नेपथ्यको आधिकारिक युट्युब च्यानलमा प्रस्तुत गरिएको यस भिडिओसँगै यो गीत विश्वभरिका श्रोतामाझ सार्वजनिक भएको छ।
युट्युबका साथै यो गीत र नेपथ्यका तमाम गीतहरू स्पोटिफाई, एप्पल म्यूजिक, आइ ट्युन्स, अमेजनलगायत प्रायः डिजिटल स्टोरहरूमा उपलब्ध छन्।
‘नेपथ्यका सबैजसो लोकलयमा आधारित गीतहरू मैले गाउँबस्ती डुलेर संकलन गरेको हुँ,’ अमृत भन्छन्, ‘यो भने मेरो पारिवारिक पृष्ठभूमिबाटै आएको प्रिय संकलन भएकाले यसपाला पर्वहरूको अवसर पारेरै सौगातका रूपमा पस्केको छु।’
यो गीत तयार पार्नअमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका हुन्।