गत शुक्रबारदेखि प्रदर्शन भइरहेको फिल्म '२ नम्बरी'का निर्माता किरण नेपाली र निर्देशक दीपेन्द्र लामाबीच नयाँ फिल्ममा सहकार्य हुने भएको छ।
उनीहरूले फिल्म ‘पोइ पर्याे काले’को सिक्वेल ‘पोइ पर्याे बुढो’मा सहकार्य गर्न लागेका हुन्।
‘दीपेन्द्र लामाले विषय केन्द्रित फिल्म बनाइरहनु भएको थियो। यो फिल्मको लागि उहाँको आवश्यकता भएर काम गर्न लागेका हौं। उहाँसँगको सहकार्य राम्रो हुँदो रहेछ। २ नम्बरीमा पनि हाम्रो सहकार्य फाप्यो। सुरूआती नै राम्रो भएपछि उहाँसँग फेरि सहकार्य गर्न लागेको हो,’ उनले भने।
उनले ‘पोइ पर्याे बुढो’को कथावस्तु खुलाउन नमिल्ने बताउँदै भने, ‘मान्छेहरूले ग्रीनकार्ड वाला या धनी बुढोसँग बिहे गरेको कथा होला भनेर सोचिरहेका छन्। तर यो फिल्म धेरै फरक खालको छ। जसलाई मान्छेहरूले कल्पना गरेका छैनन्। समाजमा घटिरहेको घटनालाई फिल्ममा उठान गर्नेछौं।’
यतिबेला फिल्मको स्क्रिप्ट लेखनको काम भइरहेको छ।
‘पोइ पर्याे काले’ मा सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ र सृष्टि श्रेष्ठको मुख्य भूमिका थियो। ‘पोइ पर्याे बुढो’मा कलाकार फाइनल नभए पनि सौगात र पूजा देखिने चर्चा छ।
२०१९ मा प्रदर्शनमा आएको फिल्म ‘पोइ पर्याे काले’ले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेको थिएन। तर युट्युबमा भने दर्शकले निकै रूचाएका थिए। यो फिल्मलाई शिशिर रानाले निर्देशन गरेका थिए।