अभिनेता सन्तोष पन्तका छोरा साकार पन्तको डेब्यू निर्देशित फिल्म ‘हिजो आजका कुरा’ असोज २८ गतेदेखि प्रदर्शन हुँदैछ।
सन् १९९५ देखि २०१३ सम्म नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिश्रृंखला ‘हिजो आजका कुरा’ ठूलो पर्दामा आउन लागेको हो।
फिल्ममा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जयनन्दन लामा, रमेश अधिकारी, जेविका कार्की, विनायक कुइँकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, लक्ष्मी भुषाल, सविन शाक्य, मन्जु श्रेष्ठ, रोहिणी भट्टराई, कमला रेग्मीलगायत कलाकारको अभिनय छ।
यी कलाकारमध्ये तीन कलाकारको भने यो अन्तिम फिल्म बनेको छ। रोहिणी भट्टराई, निरन्जनप्रसाद अर्याल र जयनन्द लामाको अन्तिम फिल्म बनेको हो।
अर्याल र भट्टराईको कोरोना संक्रमणका कारण निधन भएको हो भने लामा आफ्नै गाडीमा मृत फेला परेका थिए।
७३ वर्षीय अर्याल पूर्व प्रोफसर हुन्। उनले लामो समय पिके, त्रिचन्द्र लगायतका कलेजमा प्राध्यापन गरेका थिए। ‘भुइँ मान्छे’ फिल्मका निर्माता समेत रहेका अभिनेता भट्टराई हाउस किपिङ कार्यमा परिपक्क थिए।
जयनन्द लामा गायक, निर्देशक तथा अभिनेता हुन्। आफ्नो फिल्ममा अभिनीत तीन जना कलाकारलाई गुमाउनु पर्दा आफूहरू दु:खी भएको निर्देशक साकारले बताए।
‘उहाँहरू हामीमाझ हुनुहुन्न भन्ने सम्झँदा पनि साह्रै पीडा महसुस हुन्छ। उहाँहरू जहाँ रहे पनि आत्माले शान्ति पाओस्। उहाँहरूको आशिष हामीलाई लागिरहोस्,’ उनले भने।
तीनै जना दिवंगत कलाकारप्रति श्रद्धासुमन व्यक्त गरिएको उनले बताए। यो फिल्म २०७६ सालमा छायांकन गरिएको हो।
पन्त फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा निर्देशक साकार र कलाकार पन्तको कथा रहेको छ भने सन्दीप किस्नाको पटकथा छ।
रवि सायमीले छायांकन गरेको फिल्मलाई विनय कंसकारले सम्पादन गरेका छन्।