ऐतिहासिक विषयवस्तुमा बनेको फिल्म 'नालापानी' लाई कर छुट दिन पहल सुरू भएको छ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले यो फिल्मलाई कर छुट दिन अर्थ मन्त्रालयमा पहल गरेका हुन्।
नेपालको गौरवगाथा बोकेको हुँदा र चलचित्र विकास बोर्डले विशेष चलचित्र घोषणा गरी राष्ट्रपतिको हातबाट सम्मान प्राप्त गरिसकेको हुँदा कर छुट गर्न पहल गरेको बोर्डका अध्यक्ष केसीले बताए।
‘हिजो सञ्चार सचिव बैकुण्ठ अर्यालसँगको भेटमा नालापानीलाई कर छुट प्रदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छु। सचिवले तुरून्तै अर्थ मन्त्रालयमा पत्राचार गर्नुभएको छ,’ उनले भने।
राष्ट्रिय गौरव बोकेका फिल्महरूलाई प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ छ। साथै, उनले ‘नालापानी’लाई दिन सकिने सबै सुविधा दिने बताए।
‘नालापानी’का निर्माता तथा निर्देशक रिमेश अधिकारीले राज्यले सुविधा दिन खोजेकोमा खुसी व्यक्त गरे।
‘स्थानीय सहितका विभिन्न कर छुट दिन अर्थ मन्त्रालयमा पत्राचार गरिएको छ। यस विषयमा बोर्ड अध्यक्ष भुवन केसीले देखाउनुभएको अग्रसरताबाट म खुसी छु,’ उनले भने।
सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज-नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर यो फिल्म निर्माण गरिएको हो।
फिल्म प्राचार्य रामराजा कुँवर र प्राडा. धनबहादुर कुँवरले लिखित 'वीर बलभद्र कुँवर' पुस्तकमा आधारित छ।
कात्तिक ४ गतेदेखि प्रदर्शन हुने फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, जनक बर्तौला, सुशील खड्का, हिक्मत थपलिया, गीता अधिकारी, देव गुरूङ, गीत विष्ट, विराज थपलिया, अल्पना कर्माचार्य, सरिता राजोध्याय, युगजंग कार्की, विशाल पहारी, विजय विष्फोट, इसान विजु श्रेष्ठ, महावीर विश्वकर्मालगायत कलाकारको अभिनय छ।