सन्तोष पन्तका छोरा साकार पन्तको डेब्यु निर्देशनमा बनेको फिल्म 'हिजो आजका कुरा' आजबाट हलमा प्रदर्शन भएको छ।
यो फिल्मसँगै चार विदेशी फिल्म पनि एकसाथ प्रदर्शनमा आएका छन्। भारतीय फिल्म ‘डाक्टर जी’, ‘गडफादर’ र ‘कान्तारा’ तथा जापनी फिल्म ‘वान पिस रेड’ प्रदर्शनमा आएका हुन्।
सन् १९९५ देखि २०१३ सम्म नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिश्रृंखला ‘हिजो आजका कुरा’ ठूलो पर्दामा आउन लागेको हो।
यो फिल्म काठमाडौंमा बसोबास गर्ने आधुनिक परिवारको कथामा आधारित छ। फिल्ममा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जयनन्द लामा, रमेश अधिकारी, जेविका कार्की, विनायक कुइँकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, लक्ष्मी भुषाल, सविन शाक्य, मन्जु श्रेष्ठ, रोहिणी भट्टराई, कमला रेग्मीलगायत कलाकारको अभिनय छ।
अनुभूति कश्यपले निर्देशन गरेको फिल्म ‘डाक्टर जी’ मा मेडिकल व्यवसायको बेथिति देखाइएको छ। फिल्ममा आयुष्मान खुरानाले डाक्टरको भूमिका निर्वाह गरेका छन्। उनीसँगै फिल्ममा रकुलप्रीत सिंह र सेफाली शाहको मुख्य भूमिका छ। यो कमेडी जनराको फिल्म हो।
दक्षिण भारतीय अभिनेता चिरञ्जीवी र बलिउड अभिनेता सलमान खानको फिल्म ‘गडफादर’ भारतमा १० दिनअघि नै प्रदर्शनमा आइसकेको छ। भारतमा फिल्मले औसत व्यापार गरिरहेको छ।
यो मलयालम फिल्म ‘लुसिफर’ को रिमेक हो। फिल्ममा रामचरण, आरबी चौधरी र एनभी प्रसादको लगानी रहेको छ।
मोहन राजाले निर्देशन गरेको फिल्ममा चिरञ्जीवी र सलमानसँगै नयनतारा, सत्यदेव कन्चरणलगायत कलाकारको अभिनय छ। यो सलमान खानको तेलुगु डेब्यु फिल्म हो।
त्यस्तै दक्षिण भारतीय फिल्म ‘कान्तारा’ को हिन्दी संस्करण आजबाट प्रदर्शन भएको छ। गत ३० सेप्टेम्बरमा कन्नड भाषामा प्रदर्शन भएको फिल्मले राम्रो व्यापार गरेकोे थियो।
रिशव शेट्टीको लेखन तथा निर्देशन रहेको फिल्म ‘कान्तारा’ मा कम्बला र बुटा कोलाको परम्परागत संस्कृतिलाई प्रस्तुत गरिएको छ। फिल्ममा रिशवसँगै किशोर, सप्तमी गौडा र किशोरे कुमारको अभिनय छ।
जापानी फिल्म ‘वान पिस रेड’ एनिमेटेड एक्सन फिल्म हो। गोरो तानिगुचीले निर्देशन गरेको फिल्म जापानमा ६ अगस्ट २०२२ मा प्रदर्शन भएको थियो। यो सन् २०२२ मा जापानी बक्स अफिसमा सबैभन्दा बढी कमाउने फिल्म हो। फिल्ममा चो, जिम फोरोण्डा र हिरोअकी हिराताकाे मुख्य भूमिका छ।