कोभिड-१९ का कारण तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार यो वर्ष वितरण गरिने भएको छ।
वि.सं. २०७७ सालदेखि स्थगित भएको पुरस्कार वितरण आउँदो मंसिर १६ गते तीन जना स्रष्टा र समाजसेवीलाई दिइने घोषणा गरिएको भारती खरेल प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानको आज बसेको बैठकले वि.सं. २०७७, २०७८ र २०७९ सालको भारती खरेल स्मृति पुरस्कार क्रमशः वरिष्ठ गीतकार किरण खरेल, माइती नेपालकी संस्थापक अनुराधा कोइराला र वरिष्ठ समालोचक वासुदेव त्रिपाठीलाई दिइने निर्णय गरेको सदस्य सचिव प्रयागराज भट्टराई वाशिष्ठले बताए।
उनका अनुसार यो पुरस्कारमा सम्मानपत्रसहित ५१ हजार रुपैयाँ राशी राखिएको छ।
भक्तिमति एवं विशिष्ट साहित्य साधिका स्व. भारती खरेलको ८५ औं जयन्तीका अवसरमा यो पुरस्कार वितरण गर्न लागिएको सचिव वाशिष्ठले जानकारी दिए।
भक्तिमति एवं विशिष्ट साहित्य साधिका स्व. भारती खरेलको स्मृतिमा वरिष्ठ समाजसेवी चन्द्रिकानन्द खरेल (पति), वरिष्ठ गायक दीपक खरेल (छोरा) लगायतले स्थापना गरेको प्रतिष्ठानले हरेक वर्ष मंसिर १६ गते यस्तो समारोह गर्दै आएको छ।
प्रतिष्ठानले साहित्य साधिका तथा भक्तिमति भारती खरेलको जन्मजयन्तीको अवसरमा साहित्य, समाजसेवा, भक्तिलगायत विभिन्न क्षेत्रमा आवद्ध विशिष्ट व्यक्ति एवं संस्थालाई पुरस्कृत गर्दै आएको छ।