दयाहाङ राई र सौगात मल्ल अभिनीत फिल्म '२ नम्बरी'ले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ।
निर्माता किरण नेपालीका अनुसार फिल्मले एक सातामा ४ करोड ५० लाख कमाइ गरेको छ। यो गत बिहीबारसम्मको व्यापार हो।
‘फिल्मले एक सातामा ५ करोड कमाउने आशा थियो। तर बक्स अफिस कलेक्सन हेर्दा ४ करोड ५० लाख देखिएको छ। यसमा केही तलमाथि हुन सक्छ,’ उनले भने।
फिल्मले काठमाडौंमा २ करोड २० लाख, चितवनमा ५० लाख, पोखरामा ३० लाख, बुटवलमा २३ लाख, इटहरीमा २२ लाख, नेपालगन्जमा १५ लाख, दमकमा १५ लाख र बिर्तामोडमा १४ लाख, विराटनगरमा १२ लाख, हेटौडामा १० लाख, धनगढीमा १० लाख, धरानमा ५ लाख, सुर्खेतमा ४ लाख र अन्य विभिन्न ठाउँबाट फिल्मले २० लाख कमाएको छ।
फिल्मले दोस्रो साता पनि उत्कृष्ट प्रदर्शन गरिरहेको निर्माता नेपालीले बताए।
‘यो फिल्मले पहिलो साताभन्दा दोस्रो साता दर्शकको राम्रो साथ पाइरहेको छ। यो साता अझै राम्रो कमाइ गर्छ भन्ने आशा छ,’ उनले भने।
यो फिल्मलाई दर्शकले मिश्रित प्रतिक्रिया दिइरहेका छन्।
दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेकाे फिल्ममा सौगात, दयाहाङ, उपासन र उगेनसँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, श्रेयांश पौडेल, विश्वास गुरुङ, डिबी गुरुङ, राजु थापामगर, सागर शाह ठकुरी, सतिश सिंह खत्री, गणेश बस्याल, राजकुमार राईलगायत कलाकारको अभिनय छ।
फिल्ममा दुई साथीको मित्रतालाई देखाइएको छ।
दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानीमा बनेको फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन्।