नेपाल युरोपेली युनियन चलचित्र महोत्सवको ११ औँ संस्करण आउँदो कात्तिक ११ देखि १५ गतेसम्म हुने भएको छ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपालका लागि युरोपेली युनियनको डेलिगेसनको कार्यालयले यस महाेत्सव काठमाडौंसँगै काठमाडौं बाहिर पनि आयोजना हुने जनाएको छ।
महोत्सवमा १३ युरोपेली र ३ नेपाली फिल्म प्रर्दशन हुनेछ। प्रत्यक्ष र अनलाइन गरी हाइब्रिड मोडलमा चल्ने महोत्सव भौतिक रुपमा चलचित्र विकास बोर्डमा हुनेछ भने अक्टोबर २८ देखि नोभेम्बर २८ सम्म अनलाइन चल्नेछ।
सुर्खेतमा हुने महोत्सव कार्तिक १९ देखि २२ गतेसम्म मध्यपश्चिम विश्वविद्यालयमा आयोजना गरिनेछ। सुर्खेतमा ५ युरोपियन तथा ३ नेपाली फिल्म प्रदर्शन गरिनेछ।
‘दुई वर्षको अन्तरालपछि सिनेमा हलमा फेरि जान पाउनु र युरोपका १३ उत्कृष्ट फिल्मका साथै ३ नेपाली फिल्म प्रस्तुत गर्न पाउँदा हामी धेरै उत्साहित छौं। सिनेमा साँस्कृतिक र बौद्धिक जीवनको अग्रभागमा रहन्छ र सांस्कृतिक आदान प्रदानलाई प्रवर्धन गर्न र हाम्रो जीवनलाई प्रभावित पार्ने सवालहरूलाई हामी कसरी हेर्छाैं भन्ने हाम्रो बुझाइलाई समृद्ध बनाउनका लागि सिनेमा प्रभावकारी माध्यम हो,’ नेपालस्थित युरोपेली युनियनको डेलिगेसनकी कार्यवाहक प्रमुख जोयेले हिभोनेटले भनिन्।
१३ युरोपियन फिल्ममध्ये रिता हुतानेनले निर्देशन गरेको ‘गड्स् अफ मोलेन्बेक’, लोरेन्ट मिचेली र ओस्कारले निर्देशन गरेको ‘लोला’ र आराश टी. रिहाहीले निर्देशन गरेको ‘अस्कर एण्ड लिली’मा नेपाली सब्टाईटल हुने छन्।
महोत्सवमा भर्खरै प्रदर्शन भएर चौतर्फी प्रशंसा कमाएको ‘ऐना झ्यालको पुतली’ पनि प्रदर्शन हुनेछ। किरण श्रेष्ठले निर्देशन गरेको ‘येट अनदर विन्टर’ र विशाल रोक्का मगरले निर्देशन गरेको ‘गोर्खा गल्स’ उत्सवमा देखाइने अन्य दुई नेपाली फिल्महरू हुन्।
महोत्सवको सद्भावना दूतमा अभिनेत्री केकी अधिकारी छिन्। केकीले कार्यक्रममा बोल्दै युरोपेली फिल्मको प्रदर्शनले सिनेमा साक्षरतामा अभिवृद्धि गर्ने र नेपाल र युरोपबीच सहकार्यका ढोका खोल्ने विश्वास व्यक्त गरिन्।
महोत्सवअन्तर्गत फिल्म र फिल्म निर्माणका विभिन्न पक्षहरूसँग सम्बन्धित तीन पूरक क्रियाकलापहरूको पनि आयोजना हुनेछ।
२९ अक्टोबरमा नेपालको समय अनुसार अपरान्ह २ बजे आयोजना गरिने कार्यक्रममा फिल्म निर्माणमा आर्काइभ अर्थात् पुराना सामग्रीको प्रयोग कसरी गर्न सकिन्छ भन्ने चर्चा गरिनेछ। यस विषयमा युरोपका विज्ञ गाई बोर्ले र नेपाली विज्ञ उलासा गुरुङले आफ्ना अनुभव साट्नेछन्।
दोस्रो पूरक कार्यक्रम ‘चलचित्रहरूले वातावरण संरक्षणमा कस्तो योगदान गर्न सक्छन्’ भन्ने विषयको अन्तरक्रियामा ह्युगो मेज र रोशनी अधिकारी सहभागी हुनेछन्।
तेस्रो पूरक कार्यक्रम थेरेसा होफेर्ट दे तुरेगानो र अनुप पौडेलले नोभेम्बर १ अर्थात कार्तिक १५ गते अपरान्ह २ः०० बजे सञ्चालन हुनेछ। यो कार्यक्रम युरोपमा फिल्म निर्माणको अवस्था र युरोपेली र नेपाली फिल्म क्षेत्रमा काम गर्ने व्यक्तिहरूबीच सहयोग र सहकार्य सम्बन्धी हुनेछ।
सुर्खेतमा फिल्मकर्मी सुजित बिडारीले कात्तिक २२ गते कणार्ली प्रदेशका फिल्मका विद्यार्थी तथा फिल्मकर्मीहरूलाई मास्टरक्लास दिनेछन्।