कोरोना महामारीपछि नेपथ्यले पहिलो पटक विदेशमा कन्सर्ट गर्ने भएको छ। आगामी नोभेम्बर ६ तारिख (कात्तिक २० गते) ब्याण्ड दुबईमा कन्सर्ट गर्दैछन्।
चार्डबाडका बेला आफन्तबाट टाढा रहेका नेपालीहरूका लागि संगीतमय कोसेली बोकेर ब्याण्ड दुबई जान लागेको हो।
दुबईमा आयोजित अघिल्ला कन्सर्टहरूका बेला अन्य इमिरेट्सहरू विशेषगरी अबुधावी, सारजहाँ र रस अल खइमाबाट पनि नेपाली दर्शक उल्लेख्य संख्यामा उपस्थित भएका थिए। अघिल्ला पटक झैँ यसपालि पनि दुबईस्थित ‘अल नासेर लिजरल्याण्ड’ मै ब्याण्ड प्रस्तुत हुँदैछ।
‘आइस स्केटिङलगायत सांगीतिक कार्यक्रम स्थलका रूपमा चिनिने उही स्थलमा प्रस्तुत हुनेगरी यसपटक हामी फेरि पूरै जोश र जाँगरका साथ दुबई आउँदैछौँ,’ ब्याण्डका गायक अमृत गुरुङ भन्छन्, ‘श्रोता दर्शकलाई नचाउने र गाउन लगाउने रमाइला गीतहरू यसपटक प्राथमिकतामा परेका छन्।’
नेपथ्यले २०१५ मा आफूलाई यस सहरमा प्रस्तुत गरेको थियो। त्यसपछि सन् २०१९ को मार्च महिनामा दोश्रो पटक नेपथ्य दुबई पुगेको थियो।
नेपथ्यलाई यसपटक दुबई सहरमा ‘अमृत इभेन्ट्स’ले प्रस्तुत गर्न लागेको हो। यो कन्सर्टको टिकट दुबईलगायत आसपासका क्षेत्रमा समेत उपलब्ध गराइएको छ। स्थानीय आयोजकका अनुसार दुबईमा हुने नेपथ्य कार्यक्रमको टिकटको मूल्य ५० तथा १०० यूएई दिरहम राखिएको छ।
कार्यक्रममा सधैंजस्तै अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन्। आगामी नोभेम्बर ६ मा हुने कार्यक्रमका लागि नेपथ्यको टोली नोभेम्बर ३ तारिख त्यसतर्फ प्रस्थान गर्नेछ।