प्रदीप भट्टराईले निर्देशन गरेको फिल्म 'महापुरूष' कात्तिक ११ गतेदेखि प्रदर्शन हुँदैछ।
फिल्ममा एकल बुवाले बुढेसकालमा विवाह गर्न लागेको कथा देखाइएको छ।
फिल्मको ट्रेलर सार्वजनिक भएपछि कतिपयले हरिवंश आचार्यको वास्तविक कथा देखाइएको अड्कलबाजी लगाएका छन्। यसबारे हरिवंशले पनि बोलेका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो जीवनसँग फिल्मको कथा मेल नखाने बताएका हुन्।
‘फिल्ममा आफ्नो श्रीमतीको निधन भएपछि अर्काे विवाह गर्न चाहने कथा देखाइएको छ। यो मेरो जीवनभन्दा अलग छ। त्यो समयमा अरुले आफ्नो जीवनबारे सोच्नु पर्छ भन्नु हुन्थ्यो। मैले पनि के महसुस गर्थें भने मेरो लागि छोराहरू घरमा बसिरहनु हुँदैन। छोराहरूलाई आफ्नो व्यापार व्यवसायमा अगाडि बढ्न दिनुपर्छ भन्ने लाग्यो। छोराहरूकै सल्लाहअनुसार मैले विवाह गरेँ,’ उनले भने।
उनले विवाह गरेपछि आफ्नो जीवन सहज भएको बताए।
‘विवाह गरेपछि मेरो जीवनमा सहज भयो र काममा फर्किन सकेँ। मेरो छोराहरूले आमा पाए, मैले जीवनसाथी पाएँ। त्यस्तो घटना हुनु नराम्रो हो। त्यस्तो घटना आफूले सोचेर हुँदैन। तर अहिले जीवन सजिलो भएको देखेर विवाह नगरेको भए पछुतो लाग्ने रहेछ भन्ने लाग्छ,’ उनले भने।
उमेर ढल्केपछि आफूले विवाह गरेको भाग मात्र आफ्नो जीवनसँग मेल खाने उनले बताए।
फिल्म 'महापुरूष'मा मदनकृष्ण, हरिवंश, रविन्द्र र अरुणसँगै गौरी मल्ल, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल लुईँटेल लगायत कलाकारकाे अभिनय छ।
षट्कोण आर्ट्सको ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन्। म्याक्स दिपेश खत्री फिल्मका निर्माता हुन्।