हास्य कलाकारको रूपमा परिचित नाम हो हरिवंश आचार्य। नाटक होस् या फिल्म, उनी जिवन्त अभिनय गर्छन्।
हरिबहादुरदेखि लिएर नेवारी पात्रसम्म उनी फिट छन्। उनले निभाएका चरित्रले हरेक मन मस्तिष्कमा छाप छोडेको छ। उनी पनि आफ्नो चरित्रलाई लिएर निकै गम्भीर हुन्छन्।
उनी आफ्नो वरपरका वातावरणलाई सूक्ष्म तरिकाले अध्ययन गर्छन्। आफ्ना वरपरका मान्छेले केही फरक बोलीचाली र हाउभाउ गरे भने तुरुन्तै टिपिहाल्छन्।
अझ भनौं उनले त्यही मान्छेको जस्तै नक्कल गर्छन्। कतिपयले उनी पात्रको चरित्रमा रहेको हो कि वास्तविक भन्ने समेत फरक छुट्टाउन सक्दैनन्।
अरुको चरित्रमा भुलिरहेका हरिवंशलाई आगामी फिल्म 'महापुरूष'मा काम गर्न भने सजिलो भएन।
यो फिल्ममा उनी केही फरक रुपमा प्रस्तुत भएका छन्। उनले करिब ४० वर्षको फिल्मी करियरमा पहिलो पटक वर्कशप गरेका छन्।
'मैले फिल्म त धेरै गरेँ, तर वर्कशप गरेको थिइनँ। यो फिल्ममा वर्कशप भन्ने चिज पनि रहेछ। तीन दिन वर्कशप गरियो,’ उनले भने।
उनले वर्कशप गर्दा आफूमा भएको कमी कमजोरी नियाल्ने अवसर पाएको बताए।
'वर्कशपको बेलामा म चरित्रमा छिर्न खोजेँ। कतिपय कुरा मिलेको हुँदैन रहेछ। यसपालि मैले निर्देशकले भनेको अनुसार नै काम गरेको छु। निर्देशकले मलाई सिकाएको जस्तै कपि गरेँ। निर्देशकलाई कपि गरेपछि ऊ त खुसी भइहाल्छ। तीन दिनको वर्कशपले मलाई चरित्र निर्माण गर्न सजिलो भयो,' उनले भने।
आफूले गरेको मेहनतलाई दर्शकले मन पराउने उनको अपेक्षा छ।
धेरै चरित्र निभाइसकेका हरिवंशलाई वर्कशपको आवश्यता किन पर्याे त?
उनी भन्छन्, 'मह सञ्चारका नाटकहरूमा हामी आफै स्क्रिप्ट लेखेर तयार पार्दछौं। स्क्रिप्ट तयार पार्दापार्दै हामी चरित्रमा घुसिसकेका हुन्छौं। तर फिल्ममा फरक हुन्छ। हामी अरुको निर्देशनमा चलिरहेका हुन्छौं। त्यसैले वर्कशप गर्दा सहज हुने रहेछ।'
प्रदीप भट्टराईले निर्देशन गरेको फिल्म 'महापुरूष'मा हरिवंशसँगै मदनकृष्ण श्रेष्ठ, रविन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, गौरी मल्ल, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल लुइँटेललगायत कलाकारकाे अभिनय छ।
षट्कोण आर्ट्सको ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन्। म्याक्स दिपेश खत्री फिल्मका निर्माता हुन्।