चलचित्र विकास बोर्डले फिल्म '२ नम्बरी' सम्पादन गरेको विषयमा स्पष्टीकरण मागेको छ।
शुक्रबार एक विज्ञप्ती जारी गर्दै फिल्मको दृश्य काँटछाँट गरेको विषयमा स्पष्टीकरण मागेको हो।
'केन्द्रिय चलचित्र जाँच समितिबाट जाँचपास भएको फिल्म ‘२ नम्बरी’ को निर्माण पक्षले ५ मिनेटभन्दा बढि काँटछाँट गरेको, उक्त सम्पादित फिल्मको केही समय घटाएको र ध्वनिमा परिवर्तन गरेकाे हो वा होइन? जानकारी गराउन हुन अनुराेध छ,' विज्ञप्तीमा उल्लेख छ।
बोर्डका सदस्य सचिव महेश पराजुलीले दुई दिनभित्र स्पष्टीकरण दिन अनुरोध गर्दै रेडबर्ड प्रोडक्सनलाई पत्र काटेको हो।
यो फिल्म तेस्रो सातामा प्रदर्शन भइरहेको छ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेकाे फिल्ममा सौगात, दयाहाङ, उपासन र उगेनसँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, श्रेयांश पौडेल, विश्वास गुरुङ, डिबी गुरुङ, राजु थापामगर, सागर शाह ठकुरी, सतिश सिंह खत्री, गणेश बस्याल, राजकुमार राईलगायत कलाकारको अभिनय छ।
फिल्ममा दुई साथीको मित्रतालाई देखाइएको छ।
दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानीमा बनेको फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन्।