'२ नम्बरी' का निर्माताले फिल्म सम्पादनको विषयमा चलचित्र विकास बोर्डलाई स्पष्टीकरण दिएका छन्।
आइतबार एक विज्ञप्ती जारी गर्दै फिल्ममा कुनै पनि दृश्य र संवाद नथपिएको स्पष्टीकरण दिएका हुन्।
‘हामीले फिल्मका ध्वनि र कलरमा देखिएका केही प्राविधिक त्रुटिलाई संशोधन गरेर तेस्रो हप्तादेखि हलमा पठाएका हौं। त्यसैलाई अडिओ र भिडिओ दुवै पक्षमा परिमार्जन गरिएको भनिएको हो। हामीले सेन्सर कपिमा नसमेटिएका दृश्य वा संवाद नयाँ संस्करणमा थपेका छैनौं। थपिएको पाइएमा कानुन बमोजिम कार्वाही भोग्न तयार छौं,’ विज्ञप्तीमा उल्लेख छ।
साथै फिल्मका निर्माता किरण नेपालीले फिल्मलाई नानाथरीका स्पष्टीकरण सोध्ने यो बोर्डको कदम संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध रहेको बताउँदै ध्यानाकर्षण गराएका छन्।
दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेकाे फिल्ममा सौगात, दयाहाङ, उपासन र उगेनसँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, श्रेयांश पौडेल, विश्वास गुरुङ, डिबी गुरुङ, राजु थापामगर, सागर शाह ठकुरी, सतिश सिंह खत्री, गणेश बस्याल, राजकुमार राईलगायत कलाकारको अभिनय छ।