सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म 'प्रेमगीत ३' ले सफलताको पार्टी मनाएको छ।
आइतबार बुढानिलकण्ठस्थित बालगृह महासंघमा रहेका ५५ जना बालबालिकाहरूसँग देउसी-भैलो खेल्दै निर्माण टिमले सफलता पार्टी मनाएका हुन्।
'बालगृह महासंघमा रहेका ५५ जना बालबालिकाहरूसँग खानपिन, देउसी-भैलो तथा दिपावलीको शुभकामना आदानप्रदान गरेर सफलताको खुसी साटेका छौं। यो खुसीको अवसरमा हामीले बालगृहमा बस्दै आउनुभएका सम्पूर्ण बालबालिकाको एक वर्षसम्म लाग्ने स्कुल फी, उनीहरू सबैका लागि लत्ताकपडा, सिरक तथा डसना प्रदान गरेका छौं,' निर्माता सेनले फेसबुकमा लेखेका छन्।
निर्माण टिमले जीर्ण अवस्थामा रहेको बालगृहलाई रंगरोगन गर्नुको साथै उक्त बालगृहलाई ९० हजार रूपैयाँ सहयोग गरेका छन्।
यो फिल्मले हालसम्म विश्वव्यापी रूपमा ३९ करोड कमाएको वितरक गोविन्द शाहीले बताए।
'शुक्रबारदेखि फिल्म हलबाट उत्रिएको छ। फिल्मले विश्वव्यापी रूपमा ३९ करोड कमाएको छ भने नेपालबाट १५ करोड ५ लाख कमाएको हो,' उनले भने।
यो नेपाली र हिन्दी दुवै संस्करणको कमाइ हो।
यो फिल्म पाकिस्तानमा उर्दू भाषामा प्रदर्शन हुने तयारीमा छ। पाकिस्तानमा उर्दू भाषाका फिल्मको राम्रो क्रेज भएको हुँदा फिल्मले विश्वव्यापी रूपमा ५० करोड कमाउने निर्माण टिमको आशा छ।
फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन्।
प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।
यसअघि अन्य दुई शृंखला 'प्रेमगीत' र 'प्रेमगीत २' बक्स अफिसमा सफल भएका थिए।