नेपाली चलचित्र ‘महापुरुष’को प्रिमियर चितवनमा गरिएको छ। भरतपुरको सिजी ल्याण्डमार्कमा रहेको सिनेप्लेक्समा महापुरुषको प्रिमियर गरिएको हो।
प्रिमियर शोमा सिनेप्लेक्सका दुईवटा हलहरू दर्शकले खचाखच भएका थिए। प्रिमियर शोमा पुगेका दर्शकहरूले ‘एकल बाबु’को जीवनमा आधारित चलचित्र महापुरुषलाई रुचाएका थिए। चलचित्रका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँका अनुसार महापुरुषको कथा चितवनमै भेटिएका एक व्यक्तिबाट प्रभावित छ। श्रीमती गुमाएपछि ती व्यक्तिको जीवनमा देखिएका उतारचढाव, परिवार र समाजको मनोविज्ञानलाई फिल्मी रूप दिएको बानियाँले बताए।
यस चलचित्रमा अभिनेताहरू हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, गौरी मल्ल, रवीन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइलीलगायतका कलाकारहरूको अभिनय छ। चलचित्रलाई जात्रा, जात्रैजात्रा, सत्रुगतेलगायतका चलचित्र निर्देशन गरेका प्रदीप भट्टराइले निर्देशन गरेका हुन्। षटकोण आर्टस् प्रालिको ब्यानरमा निर्मित यस चलचित्र निर्माता दीपेश खत्री हुन्। षटकोण आर्टसले यसअघि टलकजंग भर्सेस टुल्के, जात्रा र जात्रैजात्रा बनाएको थियो।
महापुरुषको बुधबार इटहरीमा प्रिमियर शो चलिरहेको छ। इटहरीको इलाइट सिनेमामा प्रिमियर शो चलिरहेको कार्यकारी निर्माता बानियाँले बताए। यसअघि काठमाडौंमा पनि प्रिमियर शो गरिएको थियो। ‘सधैं काठमाडौंमामात्रै प्रिमियर शो गर्ने भन्ने गुनासो धेरै आएपछि हामीले राजधानी बाहिर पनि गर्नुपर्छ भनेर सुरुआत गरेका छौं। पोखरालगायतका अन्य शहरमा पनि गर्ने तयारी थियो तर यसपालि चितवन र इटहरीमामात्रै गर्नेभयौं,’ बानियाँले भने।
चलचित्रको युनिटले देशका ७ वटा शहरहरूमा मोफसल यात्रा पनि गरेको थियो। महापुरुष कात्तिक ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ।