नेपाली फिल्म हलमा आज (शुक्रबार) देखि नयाँ फिल्म 'महापुरूष' प्रदर्शनमा आएको छ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्म आज सोलो रिलिज भएको हो। ‘महापुरूष’ बाहेक अन्य नयाँ फिल्म प्रदर्शनमा आएका छैनन्।
तिहारको अवसर पारेर प्रदर्शन गरिएको फिल्मले बक्स अफिसमा राम्रो सुरूआत गरेको छ। आज बिहानदेखि नै हलमा दर्शकको बाक्लो उपस्थिति छ।
याे फिल्म नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा प्रदर्शन भइरहेको छ।
एकल बुवाको बुढ्यौलीमा बसेको प्रेमले ल्याउने उतारचढावलाई फिल्ममा देखाइएको छ। फिल्ममा हरिवंश आचार्य र गौरी मल्ललाई जोडीको रूपमा प्रस्तुत गरिएको छ।
सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘महापुरूष’मा हरिवंश र गौरीसँगै मदनकृष्ण श्रेष्ठ, रवीन्द्र सिंह बानियाँ, अरूण क्षेत्री, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बाँस्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल लुइँटेललगायत कलाकारको अभिनय छ।
यसै फिल्मबाट अरूण क्षेत्री र अन्जना बराइली डेब्यु गर्दैछन्। अरूणले फिल्ममा हरिवंशको छोराको भूमिका निर्वाह गरेका छन् भने अन्जनाले मदनकृष्णको छोरीको भूमिका निर्वाह गरेकी छन्।
दीपक बज्राचार्यले खिचेको फिल्ममा कालीप्रसाद बाँस्कोटा र रिदम कँडेलको संगीत, शंकर महर्जनको एक्सन र मित्रदेव गुरूङको सम्पादन छ।
षट्कोण आर्ट्सको ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन्। म्याक्स दिपेश खत्री फिल्मका निर्माता हुन्।
फिल्मका निर्देशक प्रदीप भट्टराईले यसअघि ‘शत्रु गते, जात्रा र जात्रै जात्रा’ निर्देशन गरेका थिए। यी तीन वटै फिल्म व्यावसायिक रूपमा सफल सावित भइसकेका छन्।