नेपाल युरोपेली युनियन फिल्म महोत्सवको ११ औं संस्करण आजदेखि सुरू भएको छ।
अनलाइन र भौतिक गरी मिश्रित माध्यमबाट सञ्चालन हुने महोत्सव कात्तिक १५ गतेसम्म हुनेछ। महोत्सवमा १३ युरोपेली र ३ नेपाली फिल्म प्रदर्शन हुने आयोजकले जनाएको छ।
फिल्म फेस्टिभलको यो संस्करण काठमाडौंसँगै पहिलोपल्ट सुर्खेतमा पनि हुँदैछ।
सुर्खेतको मध्यपश्चिम विश्व विद्यालयमा चार दिन चल्ने फिल्म महोत्सवमा ५ युरोपियन र ३ नेपाली फिल्म प्रदर्शन हुनेछन्।
यसरी प्रदर्शन हुने ३ नेपाली फिल्ममा सुजित बिडारी लिखित तथा निर्देशित ‘ऐना झ्यालको पुतली’ पनि रहेको छ। सुर्खेतमा कात्तिक १९ गते सुरू भएर २२ गते सकिनेछ।
नेपाल युरोपियन फिल्म फेस्टिभलको सद्भावना दूत रहेकी अभिनेत्री केकी अधिकारीले फिल्म महोत्सव संसारका फिल्म मेकिङबारे जान्ने अवसर भएकाे बताउँदै नेपाल युरोपियन फिल्म फेस्टिभलले दर्शक तथा फिल्मकर्मीलाई त्यो मौका उपलब्ध गराउने बताइन्।
‘महोत्सवमा नेपाली फिल्म पनि देखाइँदैछन् जुन युरोपका दर्शकले पनि हेर्नु हुँदैछ। यसले नेपाली कला संस्कृति त उता पुग्छ नै कालान्तरमा यसले सहकार्यको ढोका पनि खोल्न सक्छ,’ उनले भनिन्।
केकी केही दिनअघि मात्र ‘प्रसाद २’ मा अनुबन्धित भएकी छन् जसको सुटिङ मंसिरको पहिलो साता हुँदैछ।