आर्टुडिओले समावेशीकरण तथा समानता विषयमा केन्द्रित भित्ते कला उत्सव आयोजना गर्ने भएको छ।
आर्टुडिओले अमेरिकन एम्बेसीसँग सहकार्य गर्दै चित्रकला उत्सव आयोजना गर्न लागेको हो।
मंगलबार एक विज्ञप्ती जारी गर्दै नेपाली कलाकारलाई उत्सवमा समावेश हुन आह्वान गरिएको छ।
भित्ते कला परियोजना २०२२ नाम दिइएको कार्यक्रमका लागि १८ देखि ४० वर्षसम्मका कलाकार, म्युरलिस्ट, सडक/ग्राफिटी कलाकार, लोक परम्परागत कलाकार तथा आदिवासी सृजनात्मक अभ्यासकर्ताले आवेदन दिन पाउनेछन्।
यही कात्तिक २७ गतेसम्म कलाकारहरूले आवेदन दिन पाउनेछन्। आवेदनपछि दुई चरणमा छनोट भएका १० कलाकारहरूलाई क्युरेटोरिअल मध्यस्थतामा विभिन्न कलात्मक गतिविधिसहित जनकपुर र काठमाडौंमा भित्ते चित्र सिर्जनामा सहभागी गरिने छ।
‘सामाजिक विविधता र पहिचानसहित ऐतिहासिक विरासत बोकेको कला भएकोले भित्ते चित्रकलालाई समसामयिक सन्दर्भमा प्रवर्द्धन गर्न र उत्प्रेरित गर्न यो परियोजनाको परिकल्पना गरिएको हो। सांस्कृतिक आदानप्रदान, अनुसन्धान, कार्यशाला, सार्वजनिक प्रवचन र प्रकाशनको संयोजन गरेर सहरका भित्ताहरूलाई जीवन्त बनाइने छ,’ उक्त विज्ञप्तिमा उल्लेख छ।
‘सहरका सार्वजनिक खाली भित्ताहरूमा सिर्जना गर्ने र उजाड भित्ताहरुको मुहार फेर्ने गरी हामीले कार्यक्रमको परिकल्पना गरेका हौं,’ संस्थापक तथा कलाकार कैलाश के श्रेष्ठले भने।