'काउली बुढी' को उपनामले परिचित सन्ध्या बुढा 'द भ्वाइस अफ नेपाल' को चौथो सिजनबाट बाहिरिएकी छन्।
शनिबार प्रसारण भएको ब्याटल राउण्डबाट उनी बाहिरिएकी हुन्। कोच प्रविशा अधिकारीको टिमबाट सन्ध्यासँगै मिङसोहाङ केरुङ लिम्बूले 'नाच फिरिरी' बोलको गीत गाएका थिए।
कोच प्रविशाले आफूले आशा गरेको भन्दा दुवैले कमजोर प्रस्तुति दिएको बताइन्।
कोच राजु लामा र राजेश पायल राईले सन्ध्यालाई अगाडि बढाउन सुझाएका थिए भने कोच प्रमोद खरेलले मिङसोहाङलाई अगाडि बढाउन सुझाव दिए।
कोच प्रविशाले मिङसोहाङलाई अगाडि बढाउँदा आफ्नो टिम बलियो हुने बताउँदै उनलाई छनोट गरिन्। याेसँगै मिङसाेहाङ नकआउट राउण्डमा प्रवेश गरेका छन्।
सन्ध्या शोबाट बाहिरिए पनि राजेश पायल राईले उनलाई एउटा गीत गाउन अवसर दिने बताएका छन्।
उनले ब्लाइण्ड अडिसनमा 'जुनी जुनीलाई' बोलको गीत गाएकी थिइन्। चार जना कोचमध्ये उनले कोच प्रविशाको कुर्सी घुमाउन सफल भएकी थिइन्।
सन्ध्या 'नेपाल आइडल'को सिजन २ मा पनि सहभागी भएकी थिइन्। उनी टप २० सम्म पुगेर बाहिरिएकी थिइन्। नेपाल आइडलको अडिसनमा 'फूलको थुंगा बहेर गयो' बोलको गीत गाएर उनले चर्चा कमाएकी थिइन्।
'भ्वाइस अफ नेपाल' हरेक शुक्रबार र शनिबार राति ९ बजेदेखि हिमालय टेलिभिजनमा प्रसारण भइरहेको छ।