संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले गायक कृष्ण विकको दोस्रो गीत 'रानी माया' सार्वजनिक गरेका छन्।
सो अवसरमा उनले गीतसंगीतमार्फत पर्यटनलाई प्रवर्द्धन गर्न आग्रह गरे।
'यो भिडिओमा खिचिएको दृश्य आकर्षक छन्। यसले पर्यटन बढाउन मदत गर्ने विश्वास छ,' मन्त्री श्रेष्ठले कार्यक्रममा भने, 'युवापुस्ताले नेपाली पर्यटनसँगै कला, संस्कृतिलाई आफ्नो माध्यमबाट अगाडि बढाउनुपर्छ। यही कारण चुनावी चटारोकैबीच कार्यक्रममा सहभागी भएको हुँ।'
अभिनेता राजेश हमालले गीतको भिडिओ बिनासम्झौता निर्माण गरिएको भन्दै प्रशंसा गरे।
'उहाँहरूले स्तरीय गीत र भिडिओ बनाउनुभएको पाएँ। अडियोझैं भिडिओ राम्रो बनेको छ,' अभिनेता हमालले भने, 'मैले यो टिमसँग काम गरिसकेको छु। कामप्रतिको उहाँहरूको लगावले मलाई आउँदा दिनमा काम गर्नसमेत लालयीत गरिरहेको छ।'
गायनमा गायक विकलाई समीक्षा अधिकारीले साथ दिएकी छन्।
यसमा श्रीकृष्ण बम मल्लको शब्द र कृष्ण विकको एरेन्ज र संगीत छ।
'दोस्रो गीतमै अभिनय गर्दा रमाइलो अनुभव रह्यो। प्राप्त प्रतिक्रियाले आउँदा दिनमा आफूलाई परिमार्जित गर्नेछु,' गायक विकले भने।
भिडिओमा सामान्य युवा र राजकुमारी बीचको प्रेमलाई देखाइएको छ।
भिडिओमा बोनिका कार्की एन्ड रित खड्काको कस्ट्युम डिजाइन, मनोज श्रेष्ठको भिएफएक्स, रेनिश फागोको रङ संयोजन, कविराज गहतराजको नृत्य निर्देशन, संजय लामाको छायांकन, बनिश शाहको सम्पादन र जीबी आग्रीको निर्देशन छ।