राजकुमार राई अभिनीत फिल्म 'सोल अफ द कमान्डो' काे प्रदर्शन मिति तय गरिएकाे छ।
निर्माण टिमले फिल्मकाे दुई पाेस्टर सार्वजनिक गर्दै फिल्मकाे प्रदर्शन मिति घाेषणा गरेका हुन्। याे फिल्म मंसिर २३ गतेदेखि प्रदर्शनमा आउने भएको छ।
सन् १९९८ मा फिल्म ‘कमाण्डो’ मा मुख्य भूमिकामा देखिएका उनी २४ वर्षपछि फिल्ममा कमब्याक गर्दैछन्।
उनले सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न दशौं एशियन खेलकुदमा तेक्वान्दो खेलमा कास्य पदक र सन् १९९९ मा नेपालमा भएको आठौं दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गर्न सफल भएका थिए।
युवराज राईले निर्देशन गरेको फिल्ममा राजकुमारसँगै शिशिर वांग्देल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, सुष्मिता लिम्बुलगायत कलाकारको अभिनय छ।
सिलिचुङ फिल्म प्राइभेट लिमिटेडले निर्माण गरेको फिल्मको निर्मातामा मिलन राई, रवि थापा र धन लिम्बू रहेका छन् भने कार्यकारी निर्माता विजय एल राई हुन्।
यो फिल्मलाई दिर्घ गुरुङले छायांकन गरेका हुन्। अभिनेता राजकुमार राईले फिल्म प्रदर्शनबाट उठेको केही रकम च्यारिटीमा खर्च गर्न बताएका छन्। यो फिल्मको डिजिटल राइट्स ओएसआर डिजिटलले किनेको छ।