नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले फिल्म 'महापुरुष' हेरेका छन्।
शनिबार चाबहिलको एफएक्युब हलमा सपरिवार पुगेर उनले फिल्म हेरेका हुन्।
मह जोडीको अभिनय रहेको र राम्रो छ भन्ने थाहा पाएपछि आफूले फिल्म हेरेको उनले बताए।
‘मैले हलमा आएर फिल्म नहेरेको धेरै भयो। मह जोडीको फिल्म भएको र सबैले राम्रो छ भनेपछि हेरेको हो। २५ वर्षभन्दा बढी भयो मैले हलमा फिल्म नहेरेको। यो फिल्म हेर्दा नयाँ अनुभव पाएँ। मनभित्रको अन्धकारलाई हटाउँदै खुसी हुनुपर्छ भन्ने सन्देश दिएको छ। बुढेसकालदेखि छोराछोरी सबैको कुरा फिल्ममा समेटिएको छ। फिल्म राम्रो छ,’ उनले भने।
निर्देशक प्रदीप भट्टराईले घिसिङलाई दर्शकको रुपमा पाउँदा खुशी व्यक्त गरे। ‘दर्शकहरूले ३०/३५ वर्ष पछि फिल्म हेर्नु भनेको हामी यतिकै सफल भइसक्यौ,’ उनले भने।
अभिनेता अरुण क्षेत्री र अञ्जना बराइली पनि हलमा पुगेका थिए।
एकल बुवाको बुढ्यौलीमा बसेको प्रेमले ल्याउने उतारचढाबलाई फिल्ममा देखाइएको छ। फिल्ममा हरिवंश आचार्य र गौरी मल्ललाई जोडीको रूपमा प्रस्तुत गरिएको छ।
सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘महापुरूष’ मा हरिवंश र गौरीसँगै मदनकृष्ण श्रेष्ठ, रविन्द्र सिंह बानियाँ, अरूण क्षेत्री, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बाँस्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल लुइँटेललगायत कलाकारको अभिनय छ।
षट्कोण आर्ट्सको ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन्। म्याक्स दिपेश खत्री फिल्मका निर्माता हुन्।