भारतीय अभिनेत्री तथा रंगकर्मी शबाना आजमी काठमाडौं आउने भएकी छन्।
उनी दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मा सहभागी हुन काठमाडौं आउन लागेकी हुन्।
आउँदो मंसिर ९ गते सुरु हुने महोत्सवको उद्घाटनमा विशेष अतिथिको रुपमा आयोजक मण्डला थिएटरले उनलाई आमन्त्रण गरेको हो।
'सामाजिक रुपान्तरणको लागि रंगमञ्चः विविधिताको उत्सव' भन्ने नाराका साथ हुन लागेको यस महोत्सवमा उनले नेपाली रंगकर्मी तथा कलाकारहरूलाई ‘मास्टरक्लास’ दिने महोत्सवकी निर्देशक सिर्जना सुब्बाले जानकारी दिइन्।
मास्टरक्लास महोत्सवको दोस्रो दिन मंसिर १० गते साँझ साढे ७ बजे मण्डला थिएटरको मुख्य हलमा हुनेछ। साथै अभिनेत्री शबाना आजमीले महोत्सवले आह्वान गरेको ‘इनोभेटिभ आइडिया अवार्ड’का लागि आवेदन परेकामध्ये एक अवधारणालाई पुरस्कृत गर्नेछिन्।
भारतकी चर्चित अभिनेत्री शबाना आजमीले उत्कृष्ट अभिनेत्रीका लागि पाँच राष्ट्रिय फिल्मफेयर अवार्ड तथा विभिन्न अन्तर्राष्ट्रिय सम्मान पाएकी छन्। उनलाई भारत सरकारले सन् १९९८ मा ‘पद्यश्री’ र सन् २०१२ मा ‘पद्य भूषण’बाट विभुषित गरेको थियो।
मण्डला थिएटरमा मंसिर १७ सम्म आयोजना हुने महोत्सवमा देश–विदेशका २२ नाटकको सहभागिता हुनेछ। महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरू समावेश छन्।