कलाकार कपिलमणि दीक्षितको ‘न्यूड’ कला प्रदर्शनी जारी छ। झम्सिखेलस्थित ज्ञानमण्डलामा रहेको विइन्ड हर्स ग्यालरीमा यो प्रदर्शनी भइरहेको हो।
दीक्षित यस्ता कलाकार हुन् जसले दुई दशकदेखि न्यूड (नग्न) चित्र बनाउँदै आएका छन्। यही चित्रले उनलाई पहिचान दिएको छ। निरन्तर यो चित्र बनाउँदै आएका दीक्षितलाई लाग्छ– यो चित्रको विशेषता आफ्नो शरीर जस्तो छ, त्यही रूपमा स्विकार्नु। आफ्नो शरीरको नजिक हुनु। त्यसलाई पर्गेल्नु।
‘नग्नता हामी सबैसँग भएको कुरा हो। हामी सबै भित्रबाट नग्न छौं। तर हामी त्यसबारे कुराकानी गर्न अप्ठ्यारो मान्छौं,’ उनले भने, ‘न्यूड भन्नेबित्तिकै यौनसँग मात्र जोडिन्न। त्यसमा महिनावारी, बडी शेमिङ (शारीरिक रूपले गिज्याउने) लगायत पनि आउँछन्। हामीले यसबारे खुलेर कुराकानी गर्नुपर्छ।’
पुरूष शरीरमा पनि काम गर्ने दीक्षितले झम्सिखेलमा प्रदर्शन गरेको चित्रमा सबै महिलाका मात्र छन्। चित्रको अनुहारमा खासै चासो नदेखाउने उनले केही चित्रमा पात्रका हाउभाउ देखाएका छन्।
‘काम गर्दा उनीहरूको आँखा, ओठले मलाई धेरै भन्न खोजेजस्तै लाग्यो। त्यही भएकाले तिनलाई केन्द्रमा राखेर काम गरेको छुँ,’ उनले भने।
कला प्रदर्शनी मंसिर ३ गतेसम्म चल्नेछ।