कास्कीको धम्पुसबाट छायांकन प्रारम्भ गरेको फिल्म ‘गुलाबी’को काठमाडौंमा छायांकन सकिएको छ।
आइतबार ठमेलमा अन्तिम दृश्य खिचिएसँगै फिल्मको छायांकन सकिएको हो।
विभिन्न तालिकामा रहेर ३२ दिनमा फिल्मको छायांकन सकिएको निर्देशक समुन्द्र भट्टले जानकारी दिइन्। फिल्ममा समावेश एक गीत भने खिच्न बाँकी छ।
पारलैंगिकताको कथा बोल्ने ‘गुलाबी’मा नाजिर हुसैन, सुशिल सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणालगायत कलाकारको अभिनय छ।
फिल्मको कथा निर्देशक भट्टकै हो भने पटकथा तथा संवाद लेखनमा रामकुमार श्रेष्ठ र नाजिर हुसैनले सहकार्य गरेका छन्।
दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा आलोक शुक्लाको छायांकन छ। भद्र भुजेल एसोसिएट निर्देशक रहेको फिल्ममा पुष्कर लामाको निर्माण नियन्त्रण छ भने शृङ्गारको काम मनोज लामाले गरेका छन्।
सम्राट बस्नेत द्वन्द्व निर्देशक रहँदा लेखु सहयात्री र शान भुषालले संगीत संयोजनको काम गरेका छन्।
‘गुलाबी’लाई आगामी फागुनमा प्रदर्शन गर्न तयारी निर्माण टिमको छ।