शुक्रबारदेखि प्रदर्शन भएको बलिउड फिल्म 'उचाई' ले नेपाली दर्शकसँगै कलाकारको पनि साथ पाएको छ।
नेपालमा छायांकन गरिएको फिल्मले पर्यटन प्रवर्द्धनमा सहयोग गरेको भन्दै फिल्मकर्मीहरूले तारिफ गरिरहेका छन्।
यस्तै चलचित्र विकास बोर्डले ‘उचाई’ का निर्देशक र कलाकारलाई सम्मान गर्ने योजना बनाएको छ। बुधबार नेपालमा फिल्मकर्मीका लागि विशेष शो आयोजना गरिएको थियो। उनीहरूले ढाकाटोपी लगाउँदै ‘केटीको’ बोलको गीतमा हलमै नाचेका थिए।
जुन भिडिओ अभिनेता अनुपम खेरले ट्विटरमा सेयर गर्दै खुशी व्यक्त गरेका छन्। ‘नेपाली फिल्म हलमा उचाई, जय हो,’ उनले लेखेका छन्।
बक्स अफिसमा सुखद कमाइ गरिरहेको फिल्मको विषयमा नेपाली कलाकारहरूले मनपराएको अभिव्यक्ति दिइरहेका छन्।
निर्देशक मिलन चाम्सले नेपाली भूमिलाई राम्रोसँग देखाएको भन्दै फिल्म हेर्न आग्रह गरे।
‘मैले योभन्दा अघि विदेशी फिल्मको प्रमोशन गरेको थिइनँ। उचाईले नेपालको भूमिलाई गज्जब तरिकाले खिचेको छ,’ उनले भने।
यो फिल्मको अधिकांश छायांकन नेपालमा गरिएको हाे। हिमाली भेगमा छायांकन भएको हुँदा अमिताभ बच्चन उपस्थित थिएनन्।
नेपालमा भएको छायांकनमा उनको डमी कलाकार प्रयोग गरिएको थियो। मुम्बइमा भएको छायांकनमा अमिताभले नै अभिनय गरेका छन्।
स्वयम्भू, काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, लुक्ला, नाम्चे, मनाङलगायत ठाउँमा करिब एक महिना लगाएर फिल्मको छायांकन गरिएको थियो।
बलिउडमा स्थापनाको ७५औँ वर्ष पूरा गरेको राजश्री प्रोडक्सनको निर्माण रहेको फिल्मलाई सुरज बडजात्याले निर्देशन गरेका छन्।
फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी डेन्जोङ्पा, नीना गुप्ता, परिणिती चोपडा र सारिका हसनको मुख्य भूमिका छ। फिल्ममा नेपाली कलाकारले पनि अभिनय गरेका छन्।