सांगीतिक ब्याण्ड 'एक्सिस' ले पाँच वर्षपछि काठमाडौंमा प्रस्तुति दिने भएको छ।
‘एक्सिस लाइभ इन काठमाडौं’ मार्फत मंसिर १६ गते दर्शक माझ गुञ्जिने भएको हो। उक्त कार्यक्रम क्लब फरेन हाइटमा हुनेछ।
पाँच वर्षअघि एक्सिसले नेपालमा दर्शकको हाउसफूल उपस्थितिमा कन्सर्ट गरेको थियो। यो कन्सर्टपछि एक्सिसले नेपाल बाहिर धेरै सफल कार्यक्रम गरेर दर्शकलाई मनोरञ्जन दिएको थियो।
व्यवस्थापक पिभिई नेटवर्कका अनुसार एक्सिसअघि झिल्के एण्ड द कम्पनीले प्रस्तुति दिनेछ।
पिभिईले प्रायोजक, कलाकार, इभेन्ट मेनेजमेन्ट कम्पनी, प्रोडक्सन टिम र मनोरञ्जनका अन्य क्षेत्रलाई नयाँ अनुभव दिन कार्यक्रम गर्न लागेको जनाएको छ।
नेपालमै पहिलोपटक लाइट, साउण्ड, एलइडी, क्यामरादेखि कलाकारको कोरियोग्राफीमा सम्बन्धित क्षेत्रका विज्ञको डिजाइनमा सेट तयार पारिनेछ।
कार्यक्रमको प्रि–सेल्स टिकट सबै सोल्ड आउट भएको छ तथा कार्यक्रमका लागि १ हजार र १५ सय टिकट मूल्य निर्धारण गरिएको छ।
एक्सिसको स्थापना सन् २००३ मा भएको हो। बार, क्लब र रेष्टुरेन्टमा गीत नगाउने यो ब्याण्डले पहिलोपटक क्लब फरेन हाइटमा क्लोज इभेन्टमा प्रस्तुति दिँदैछ।
ब्याण्डले हालसम्म ‘ब्ल्याक एण्ड ह्वाइट (२००४)’, ‘माफ गरिदेउ (२००९)’, र ‘गाउँ घर (२०१७)’ गरी तीन एल्बम ल्याइसकेको छ।