प्रदीप भट्टराईले निर्देशन गरेको फिल्म 'महापुरुष' ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
गत शुक्रबारदेखि फिल्म पाँचौं सातामा प्रवेश गरेको छ। निर्माता रविन्द्र सिंह बानियाँका अनुसार फिल्मले ३० दिनमा १० करोड १४ लाख कमाएको छ।
फिल्मले बक्स अफिसममा १० करोड कमाएसँगै निर्माण टिमले आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै सफलताको खुसी साटेका छन्।
फिल्मले हलमा ५१ औं दिन पार गर्ने निर्देशक भट्टराई विश्वास व्यक्त गरे।
'व्यापार यस्तो हुनुपर्छ, यति मान्छेले हेर्नुपर्छ, यसको चाहिँ रेकर्ड तोड्नु पर्छ भनेर हामीले फिल्म बनाएका थिएनौं। बाआमाले हाम्रा लागि धेरै गर्नुभयो, उहाँहरूका लागि पनि केही गरौं भनेर मनबाट फिल्म बनाएका हौं। दर्शकहरूले मन पराउनु भयो। हामी खुसी छौं,' उनले भने।
केही समयदेखि प्रदीप भट्टराईले फिल्म 'महाजात्रा' बनाउने चर्चा भइरहेको छ। तर उनले अहिलै कस्तो विषयमा फिल्म बनाउने भनेर टुंगो नलागेको जानकारी दिए।
निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँले दर्शकको माया र साथले आफूहरूलाई थप चुनौति थपिएको बताए।
निर्माता बानियाँका अनुसार 'महापुरुष' लाई चिनियाँ भाषामा सबटाइटल राखेर फेस्टिभलमा देखाउने र हिन्दी भाषामा डब गरेर डिजिटल प्लेटफर्ममा रिलिज गरिनेछ।
डेब्यु अभिनेता अरुण क्षेत्री र डेब्यु अभिनेत्री अन्जना बराइलीले पहिलो फिल्मबाट यतिको सफलताको बारेमा नसोचेको बताए। उनीहरूले आगामी फिल्ममा चुनौति थपिएको बताउँदै विचार गरेर फिल्म साइन गर्ने बताए।
एकल बुवाको बुढ्यौलीमा बसेको प्रेमले ल्याउने उतारचढाबलाई फिल्ममा देखाइएको छ। फिल्ममा हरिवंश आचार्य र गौरी मल्ललाई जोडीको रूपमा प्रस्तुत गरिएको छ।
सामाजिक विषयवस्तुमा आधारित फिल्म 'महापुरूष' मा हरिवंश र गौरीसँगै मदनकृष्ण श्रेष्ठ, रविन्द्र सिंह बानियाँ, अरूण क्षेत्री, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बाँस्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल लुइँटेललगायत कलाकारको अभिनय छ।
षट्कोण आर्ट्सको ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन्। म्याक्स दिपेश खत्री फिल्मका निर्माता हुन्।