प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन- २०७९ सम्पन्न भएपछि नेपथ्य सांगीतिक यात्रामा निस्कने भएको छ।
नेपथ्यले एक महिना लामो सांगीतिक यात्रा गर्न लागेको हो। नेपथ्यका गायक अमृत गुरुङका अनुसार उपत्यकाबाट बाहिरिन कलाकार, व्यवस्थापन तथा प्राविधिकहरूको टोली तयार अवस्थामा छन्।
‘हाम्रा आ-आफ्ना विचार, आस्था र मान्यताले गर्दा चुनावमा स्वाभाविक तवरले जताततै मतान्तरका घेरा कोरिएको हुनुपर्छ। अब फेरि सिंगो समाज एउटै सुत्रमा गाँसिनु जरुरी छ, जसलाई संगीतले मद्दत गर्न सक्छ,’ गुरुङले भने।
यसै साता सांगीतिक यात्रामा निस्कन तयार ब्याण्डको पहिलो प्रस्तुती मंसिर १६ गते बिराटनगरको हाटखोला मैदानमा हुनेछ। त्यसपछि ब्याण्ड वीरगंज प्रस्थान गर्नेछ।
मंसिर १९ गते वीरगंजको आदर्शनगर रंगशालामा, मंसिर २२ गते हेटौंडाको भूटनदेवी स्कुल मैदानमा, २५ मंसिर गते नारायणघाटको क्याम्पाचौरमा ब्याण्ड उपस्थित हुनेछ। मंसिर महिनाको अन्तिम कन्सर्ट भने नेपालगन्जमा २९ गते आयोजना गरिनेछ।
ब्याण्डले पुस ३ गते धनगढीको रंगशालामा आफूलाई प्रस्तुत गर्नेछ। पुस ६ गते वीरेन्द्रनगर सुर्खेतको खुलामञ्चमा, पुस ९ गते बुटवलको रामनगर खेलमैदानमा, पुस १२ गते पोखरास्थित प्रदर्शनी केन्द्रमा प्रस्तुति दिनेछन्।
यसरी देशका सम्पूर्ण प्रदेशहरू घुमिसकेपछि अन्तिममा ब्याण्ड काठमाडौं आइपुग्नेछ। काठमाडौंमा भने पुस १६ गते भृकुटीमण्डपमा ब्याण्ड प्रस्तुत हुनेछ।
यसपाला नेपथ्यले देश दौडाहाका क्रममा सांगीतिक मनोरञ्जनको योजना मात्र बोकेको छैन। अब मानवताको प्रवर्द्धनका लागि आफूलाई मञ्चहरूमा उभ्याउने अठोट बोकेको नेपथ्यले सडकमा रहेका असहायका निम्ति आश्रय थलो उभ्याउन कन्सर्टकै माध्यमबाट सहयोग समेत जुटाउनेछ।
आफ्ना गीतहरूलाई ‘मानवता प्रवर्द्धन अभियान’ सँग जोड्नका लागि नेपथ्यले मुलुकभर फैलिएको सामाजिक संस्था ‘मानव सेवा आश्रम’सँग हातेमालो गरेको छ।
मानव सेवा आश्रमका संस्थापक तथा अध्यक्ष रामजी अधिकारीका अनुसार यी कन्सर्टहरूको टिकट मानव सेवा आश्रमको आधिकारिक वेबसाइट 'एमएसए डट ओआरजी डट एनपी' मार्फत काट्न सकिन्छ। त्यसैगरी नेपथ्य ब्याण्डको वेबसाइटबाट पनि टिकट उपलब्ध गराइएको छ।
नेपथ्यको यो भ्रमणलाई ‘नेपालय’ले व्यवस्थापन गर्न लागेको हो।