गीतकार डिआर उपाध्यायले थप २२ विश्व कीर्तिमान राखेका छन्।
सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै उपाध्यायलाई २२ विश्व कीर्तिमानको प्रमाणपत्र पूर्व उपराष्ट्रपति परमानन्द झाले प्रदान गरेका हुन्।
उक्त कीर्तिमान उनलाई विश्व रेकर्ड प्रदान गर्ने विभिन्न ११ संस्थाले प्रदान गरेको हो।
यसअघि नेपालीसहित ५० भाषामा गीत, सबैभन्दा सानो पुस्तक, नोट साइजको गीत, १५० देशका पर्यटकीय स्थलको गीतलगायत विभिन्न विधामा गिनिज बुकमा ११० वटा विश्व रेकर्ड कायम गरेका थिए।
उनले अहिले २५ वटा गीत २५ जना म्युजिसियनले एकैथलोमा मेलोडी बजाएको, गीति कविता अंग्रेजी अक्षरको 'ए' देखि 'जेड' सम्म, पानीमाथि ढुंगामा बसेर गीति एल्बम विमोचन, आफ्ना गीतको ४५ वटा भिडिओको एक एल्बम, र्याप गीत ४/४, २/४, ६/८ र ३/४ स्केलमा, अन्तरिक्षमा गएका व्यक्तिहरूको नाममा गीति कवितालगायत विधामा २२ विश्व कीर्तिमान राखेका हुन्।
उनलाई यो प्रमाण पत्र एभरेष्ट वर्ल्ड रेकर्ड, च्यापियन बुक अफ वर्ल्ड रकेर्ड, एशियन वर्ल्ड रेकर्ड, युरोपियन रेकर्ड बुक, अमेरिका बुक अफ रेकर्ड, द ब्रिटिस वर्ल्ड रेकर्ड, एक्सकुलुसिभ वर्ल्ड रेकर्ड, युआरएफ वर्ल्ड रकेर्ड, सुप्रिम वर्ल्ड रेकर्ड, किंग्स बुक अफ रेकर्ड, वर्ल्ड ट्यालेन्ट बुक जस्ता वर्ल्ड रेकर्ड प्रदान गर्ने संस्थाले दिएको हो।
कार्यक्रममा प्रमुख अतिथि झाले उपाध्यायका यो गौरव उनका लागि मात्र नभई देशकै लागि रहेको बताए। उनले विश्वमा आफ्नो र देशको नाम लेखाउन सफल भएकोमा बधाई तथा अगामी यात्राको लागि शुभकामना दिए।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्व अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघका निर्वतमान अध्यक्ष चुडामणि देवकोटा र खनाल समाजका महासचिव माधव खनालको उपस्थिति थियो।
सोही अवसरमा सञ्चारकर्मी नरेश भट्टराई, सन्तोष श्रेष्ठ, पत्रकार कृष्ण भुुसाल, गीता अधिकारी लगायतलाई 'द ब्रिटिस वर्ल्ड रेकर्ड'ले प्रदान गरेको अनर सर्टिफिकेट प्रदान गरिएको थियो।