नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को छैटौं दिन भारत र श्रीलंकाको दुई नाटक, नाटकको पुस्तक विमोचन र सांगीतिक प्रस्तुति हुँदैछ।
इटालीको नाटक इभान हास्टिङ निर्देशित नाटक ‘स्याडो लिवेरेसन’ को बुधबार दुई पटक मञ्चन हुँदैछ। छाया नाटक र कचहरी नाटकको मिश्रित शैलीमा तयार पारिएको सहभागितामूलक यस नाटकमा यौन उत्पीडनको रोकथामको सन्दर्भलाई उठाइएको छ।
‘स्याडो लिवेरेसन’ दिउँसो २ र साँझ ६ बजे मण्डला स्टुडियोमा मञ्चन हुँदैछ। त्यस्तै दिउँसो २ बजे मण्डला नाटकघरमा श्रीलंकाको नाटक ‘राजा मन वहला’ मञ्चन हुँदैछ।
‘राजा म दास हुँ’ भन्ने अर्थ लाग्ने नाटकमा प्रेमथिका नाम गरेको एक दासको वरिपरि घुम्छ। प्रेमथिका नाम गरेका युवकले एक दास, राजा र राजकुमार गरी तीन फरक कथाहरू सुनाउने छन्। जब सबै पात्रहरूले आफ्नो नियतीको पर्दाफास गर्छन् र अन्त्यमा दर्शकहरूले यी तीनमध्ये श्रेष्ठ नायक को थियो भनेर छान्नुपर्नेछ।
त्यस्तै महोत्सवमा बुधबार मध्यान्ह १२ बजे नारायण वाग्लेको उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’को विमोचन हुँदैछ। सुरज सुवेदीले नाट्य रुपान्तरण गरेको सो नाटक केही महिनाअघि मण्डला नाटकघरमा मञ्चन पनि भएको थियो।
विमोचन लगत्तै ‘नाटकमा शब्दको आकृतिः कस्तो देखिन्छ, कस्तो लेखिन्छ?’ शीर्षकमा प्यानल छलफल हुनेछ। जसमा साहित्यकारहरू नयनराज पाण्डे, उपेन्द्र सुब्बा, रंगकर्मीहरू विमल सुवेदी, दिया मास्केसँग लेखक तथा पत्रकार बसन्त बस्नेतले वार्ता गर्नेछन्।
‘सामाजिक रुपान्तरणका लागि रंगमञ्चः विविधताको उत्सव’ भन्ने नाराका साथ भइरहेको महोत्सवमा छैटौं दिनको अन्तिम कार्यक्रममा कलाकारहरू हुम बिसी र माधव त्रिपाठीले नेपाली लोकबाजाको सांगीतिक प्रस्तुति दिनेछन्।
मंसिर १७ सम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन्।