नेपाली सेलिब्रेटीहरू लम्जुङस्थित भुजुङ गाउँमा टुर जाने भएका छन्। अभिनेता राजेश हमालदेखि गायक रामकृष्ण ढकालसम्म टुर जान लागेका हुन्।
उक्त टुरको नाम ‘स्पार्क टुर’ राखिएको छ। टुरमा डाक्टर, पाइलट, इन्जिनियर, कलाकार, वकिल, सुरक्षाकर्मी, व्यापारीलगायत विभिन्न क्षेत्रका दुई सय जना सहभागी हुनेछन्।
स्पार्क ग्रुप नेपालका रोशन घिमिरेका अनुसार यस टुरको अवधि मंसिर २२ गतेदेखि २४ गतेसम्म रहनेछ।
‘अहिलेको देशको परिस्थितिलाई मध्यनजर गर्दै हामीले भुजुङ गाँउमा टुर राखेका हौं। प्रिमियम लेभलका मानिसहरू भम्रणका लागि विदेश जाने ट्रेण्ड छ। हामीले यस टुरमा सबै क्षेत्रका मानिसलाई समेट्दैछौं। यसले नेपालमै घुम्ने ट्रेण्ड बसाल्छ भन्ने हाम्रो विश्वास छ,’ उनले भने।
स्पार्क ग्रुपले पहिलो पटक यस्तो टुर आयोजना गर्न लागेको हो। अब हरेक वर्ष यस्तो टुर आयोजना गर्ने घिमिरेले बताए।
टुरमा राजेश हमाल, रामकृष्ण ढकाल, कलाकार तथा क्याप्टेन विजय लामा, विपिन कार्की, हरिहर अधिकारी, नीता ढुंगाना, डाक्टर चक्र पाण्डे, वकिल सुशिल पन्तलगायत सहभागी हुनेछन्।
तीन दिने टुरको दोस्रो दिन रामकृष्ण ढकाल साझँको आयोजना हुनेछ जहाँ रामकृष्ण ढकालले सांगीतिक प्रस्तुति दिनेछन्।