यो वर्षको भारती खरेल स्मृति पुरस्कार वितरण गरिएको छ।
शुक्रबार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा तीन जना स्रष्टा र समाजसेवीलाई पुरस्कार वितरण गरिएको भारती खरेल प्रतिष्ठानले जनाएको छ।
वरिष्ठ गीतकार किरण खरेल, माइती नेपालकी संस्थापक अनुराधा कोइराला र वरिष्ठ समालोचक वासुदेव त्रिपाठीलाई पुरस्कार वितरण गरिएको हो।
भक्तिमती एवं विशिष्ट साहित्य साधिका स्व. भारती खरेलको ८५ औं जयन्तीका अवसरमा उनीहरूलाई सम्मानपत्रसहित ५१ हजार रुपैयाँ राशी दिइएको प्रतिष्ठानले बताएको छ।
भक्तिमती एवं विशिष्ट साहित्य साधिका स्व. भारती खरेलको स्मृतिमा वरिष्ठ समाजसेवी चन्द्रिकानन्द खरेल (पति), वरिष्ठ गायक दीपक खरेल (छोरा) लगायतले स्थापना गरेको प्रतिष्ठानले हरेक वर्ष मंसिर १६ गते यस्तो समारोह गर्दै आएको छ।
प्रतिष्ठानले साहित्य साधिका तथा भक्तिमति भारती खरेलको जन्मजयन्तीको अवसरमा साहित्य, समाजसेवा, भक्तिलगायत विभिन्न क्षेत्रमा आवद्ध विशिष्ट व्यक्ति एवं संस्थालाई पुरस्कृत गर्दै आएको छ।