अपांगता भएका व्यक्तिहरूको विषय वरिपरि रही 'आऊ साथी' बोलको गीत सार्वजनिक गरिएको छ।
३१ औं अर्न्तराष्ट्रिय अपांग दिवसको अवसर पारेर शनिबार गीत सार्वजनिक गरिएको हो। गीतमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रामकृष्ण ढकाल, अन्जु पन्त, बुनु श्रेष्ठ, शिव परियार, पुष्पन प्रधान र अस्मिता अधिकारीले स्वर दिएका छन्।
नरेश महर्जनको शब्द रहेको गीतमा शक्ति बल्लभले संगीत भरेका हुन् भने संगीत संयोजन निरज श्रेष्ठको रहेको छ।
‘समावेशी विकासका लागि रुपान्तरित समाधान, पहुँचयुक्त र समतामूलक विश्वका लागि उर्जावान सिर्जनशीलताको प्रावधान’ भन्ने मूल नारालाई आत्मसात गर्दै चेतनामूलक गीत बनाएको निर्माण कम्पनी साउण्ड मिलले जनाएको छ।
यस गीतले समस्त अपांगता भएका अर्थात् फरक क्षमता भएका व्यक्तिहरूलाई समेट्ने प्रयास गरेको छ। यो गीत स्टुडिओ साउण्ड मिल र समाजसेवी एवम् गीतका नरेश प्रधानको सहकार्यमा निर्माण भएको हो।
नारन खतिवडा र अनिरूद्ध आक्रेयको कथा रहेको गीतलाई नारन र मोहन राईले निर्देशन गरेका छन्।
विमललाल श्रेष्ठको परिकल्पना रहेको गीतको भिडिओमा अभिनेत्री उषा रजक, रश्मी भट्ट, रक्षा थापा, सुन्दर धिताल, आइपी आचार्य, प्रकाश सुवेदी, प्रिन्सप्रसाद सिंह थापा, देवकुमार श्रेष्ठ, विकास रिमाल, सविना थापालगायत कलाकारको अभिनय छ।
शरद महतोले छायांकन गरेको म्युजिक भिडिओलाई बालकृष्ण श्रेष्ठ र मिलन राईले सम्पादन गरेका हुन्।