२० औं काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा बलिउड निर्देशक तथा अभिनेता प्रकाश झा प्रमुख वक्ताको रुपमा आउने भएका छन्।
आयोजक हिमाल एसोसिएसनले महोत्सवमा निर्देशक झा मुख्य वक्ताको रुपमा सहभागी हुने जानकारी विज्ञप्तिमार्फत गराएको छ। झा अभिनित तथा एम गनी निर्देशित फिल्म ‘मट्टोकी साइकल’ किम्फमा विशेष प्रदर्शन हुँदैछ।
हिमाल एसोसिएसनको आयोजना र काठमाडौं महानगरपालिकाको सह–अयोजनमा मंसिर २२ देखि २६ गतेसम्म काठमाडौंस्थित राष्ट्रिय सभागृह (सिटी हल) र नेपाल पर्यटन बोर्ड (एनटीबी) मा हुन गइरहेको हो।
सन् २००० देखि सुरू भएको किम्फ महोत्सवमा विशेषगरी पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्महरू प्रदर्शन गरिन्छन्।
महोत्सवमा ३० मुलुकका ६० भन्दा बढी फिल्म प्रदर्शन गरिनेछन्। कोभिड-१९ का कारण किम्फको अठारौं र उन्नाइसौं संस्करण भर्चुअल (अनलाइन) माध्यमका रूपमा सम्पन्न भएको थियो। दुई वर्षपछि दर्शकको प्रत्यक्ष उपस्थितिमा हुन लागेको यस महोत्सवमा डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक फिल्म देखाइनेछन्। यस वर्ष किम्फको मूल नारा ‘सस्टेनेबल सम्मिट्स’ रहेको छ।
किम्फ २०२२ को उद्घाटन हेर्ने कथा शृंखला अन्तर्गत ‘बाघको बंगारा’ को प्रर्दशनीबाट हुनेछ। यस फिल्मले जाजरकोट जिल्ला कर्णाली प्रदेशको हनी हन्टरको साहसिक कथालाई चित्रण गरेको छ। महोत्सवको समापन पोलियो उन्मूलनका लागि एक अस्ट्रेलियन अपांगता भएको व्यक्तिले सगरमाथा चढ्नलाई गरेको प्रयासबारे बनेको फिल्म ‘फ्लाई फ्रम एभरेष्ट’ बाट हुनेछ।
महोत्सवमा अन्तर्राष्ट्रियतर्फ प्रथम, दोस्रो र तेस्रो उत्कृष्ट तीनवटा फिल्मले क्रमशः दुई लाख, एक लाख पचास हजार र एक लाख रुपैयाँ पुरस्कारस्वरुप पाउनेछन्। नेपाली पानोरामा अन्तर्गत फिक्सन र डकुमेन्ट्री विधामा उत्कृष्ट फिल्मलाई क्रमशः एक लाख र पचहत्तर नगद पुरस्कार रुपैयाँ दिइनेछ।
इसिमोड सदस्य मुलुकबाट छानिएको उत्कृष्ट फिल्मले ‘बेस्ट इसिमोड माउण्टेन फिल्म अवार्ड’ सहित एक हजार अमेरिकी डलर पाउनेछ। त्यसैगरी महोत्सवमा अत्यधिक दर्शकको मत पाउने फिल्मले ‘किम्फ अडियन्स अवार्ड’ मार्फत पचास हजार रुपैयाँ पाउनेछ।
चलचित्रकर्मी, चलचित्रअनुरागी, समीक्षक, विद्वान्, पत्रकार, कलाकार र पर्वतारोहीहरुको उपस्थितिमा हुने उक्त महोत्सवका आकर्षणहरु फिल्म सम्बन्धी गोष्ठी, प्रवचन तथा छलफल र फोट प्रदर्शनी हुनेछन्।
किम्फ २०२२ को जुरीमा जर्मन लेखक-निर्देशक-निर्माता माइकल पज, दिग्गज नेपाली एनिमेसन फिल्म निर्देशक÷निर्माता तथा इनससेन्ट रेन स्टुडियोको संस्थापक तथा सहायक कार्यकारी प्रमुख किरणभक्त जोशी र कोरियाको उल्जु माउन्टेन फिल्म फेस्टिभलका कार्यक्रम निर्देशक जिन्ना ली रहेका छन्।