एक महिने सांगीतिक यात्रामा निस्किएको नेपथ्यले वीरगञ्जमा कन्सर्ट सम्पन्न गरेको छ।
‘मानवताका लागि संगीत’ अभियानका साथ देशभरको दौडाहामा निस्केको नेपथ्यको यो दोस्रो कन्सर्ट हो। नेपथ्य वीरगञ्जमा यसअघि १८ वर्ष पहिले ‘शान्तिको लागि शिक्षा’ अभियान बोकेर उपस्थित भएको थियो।
‘यसपटक वीरगन्ज आउन हामीले झण्डै दुई दशक कुर्नुपर्यो। अब वीरगञ्ज र नेपथ्यको भेट छिटो छिटो हुने विश्वास दिलाउँछु,’ कन्सर्टमा गायक अमृत गुरुङले भने।
अघिल्लो कार्यक्रमजस्तै यसपटक पनि नेपथ्यले पहिलो गीत ‘भेँडाको ऊनजस्तो’ प्रस्तुत गरेको थियो। यस गीत रेकर्डमा भन्दा थोरै परिमार्जन गरिएको थियो। त्यसपछि क्रमशः ‘छेक्यो छेक्यो’, ‘लामपाते सुरती’, ‘चरि मर्यो’, ‘जोमसोमे बजारमा’ हुँदै ‘शिरफूल’ जस्ता गीतहरूले निरन्तरता पाएका थिए।
मानवसेवा आश्रमका मनछुने तस्बिरहरू प्रस्तुत गर्दै ‘यो जिन्दगानी’ गाएपछि अमृतले आधुनिक नेपाली गायनका नायक नारायण गोपालको पनि सम्झना गरेका थिए।
‘आज मंसिर १९ अर्थात् नारायण दाइको पुण्य तिथि। नेपाली संगीतलाई असाध्यै धेरै गुन लगाउनुभएको उहाँको आत्माको शान्तिको कामना गर्छु,’ उनले भने।
कार्यक्रमको अन्त्यतिर सधैँजस्तै नेपथ्यको सर्वकालीक हिट गीतहरू ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो।
मञ्चमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।
वीरगन्जको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली मंगलबार हेटौंडातर्फ प्रस्थान गरेको छ। मानवसेवा आश्रमकै आयोजनामा त्यहाँस्थित भुटनदेवी स्कुल मैदानमा नेपथ्य मंसिर २२ गते बिहीबार प्रस्तुत हुँदैछ।