‘दाफा कलिङ’ कार्यक्रमको तेस्रो संस्करण यही मंसिर २३ देखि पुष २ गतेसम्म पाटन सग्रंहालयमा हुँदैछ। फोक लोक, पांगाको बालकुमारी दाफा खलः र कीर्तिपुरस्थित तःननि दाफा खलः को आयोजनामा यो कार्यक्रम हुन लागेको हो।
अघिल्ला दुई संस्करण अनलाइनबाट भएको कार्यक्रम यसपटक पाटन संग्रहालयमा हुन लागेको हो। यसमा सातादिन दाफासँग जोडिएका कार्यक्रम हुनेछन्।
'दाफा कलिङ' काठमाडौँ उपत्यकाको ऐतिहासिक दाफा संगीतको ज्ञान आदानप्रदान गर्ने कार्यक्रम हो। कार्यक्रमको पहिलो दिन ‘कला सिर्जनाको लागि संघीय र स्थानीय नीति’ शीर्षकमा छलफल कार्यक्रम छ। यसको वक्ताका रूपमा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन, काठमाडौं महानगरपालिकाकी उप–प्रमुख सुनिता डंगोल र भक्तपुर नगरपालिकाकी उप–मेयर रजनी श्रेष्ठ जोशीले भाग लिँदैछन्।
मंसिर २४ गतेको छलफल कार्यक्रम ‘कीर्तिपुरमा दफा संगीतको पुर्नजागरण’ शीर्षकमा हुनेछ। यसको वक्ताहरु सांसद पुकार महर्जन, कीर्तिपुर नगरपालिकाकी उप–प्रमुख शुभलक्ष्मी शाक्य, कीर्तिपुर पर्यटन विकास समितिका विजय कुमार महर्जन, बालकुमारी दाफा खलः का रुपेन्द्र महर्जन र ठाम बहाः दाफा खलःबाट राजेन्द्र महर्जन छन्।
त्यसैगरी, मंसिर २३ देखि पुष २ गतेसम्म ‘दाफाः संगीतको उपत्यका’ नामक प्रदर्शनी पाटन संग्रहालयमा हुनेछ। यस बीचमा विभिन्न सांगीतिक प्रस्तुति हुनेछन्।
‘दाफा कलिङ’ कार्यक्रम दाफा संगीतको सौन्दर्य र सिर्जनात्मक अभिव्यक्तिलाई नेपाली समाजमा स्थान दिने खुला मञ्च हो। यसमा दाफा संगीतका अभ्यासकर्ता, अन्वेषक, स्थानीय सरोकारवाला त संगीत पारखीलाई एकै स्थानमा ल्याई सबैको विचार, आवाज बाँड्दै समन्वयका नवीन्तम अवसर खोज्ने प्रयास गरिन्छ।
यो संस्करणमा सफु (पुस्तक) लेखन कार्यशाला, सम्पदा पदयात्रा र दाफा सम्बद्ध प्रदर्शनी विशेष रूपमा समावेश हुँदैछ। स्थानीय निकायसँग दाफा संस्कृतिको सरंक्षण, संवर्द्धन र यसको पुस्तान्तरबारे गहन छलफल कार्यक्रममा हुनेछ।