अनमोल केसीको अभिनय रहने फिल्म 'जेरी २' को लागि निर्माण पक्षले 'टाइटल फन्ट डिजाइन कम्पिटिसन' आह्वान गरेको छ।
इच्छुकले आफ्नै परिकल्पनाको फन्ट डिजाइन गर्नुपर्नेछ। यसमा नक्कल गरिएको डिजाइन मान्य हुने छैन।
पुस १० अर्थात् डिसेम्बर २५ सम्म प्रतिस्पर्धीले आफ्नो डिजाइन ‘नेपमुभिजइन्टरटेन्मेन्ट’ मा जिमेल गर्नु पर्नेछ। निर्धारित मितिभन्दा ढिलो पठाइएको डिजाइनले प्रतिस्पर्धामा भाग लिन नपाउने बताइएको छ।
जुरीको मूल्यांकनको आधारमा विजेता छनोट गरिने प्रतिस्पर्धामा विजेताले ५० हजार नगद जित्नेछन्। उक्त डिजाइन फिल्ममा समावेश हुनेछ।
हेमराज बिसीले निर्देशन गर्ने फिल्मको अहिले प्रि–प्रोडक्सनको काम भइरहेको छ। फिल्ममा अनमोलबाहेक अन्य कलाकार घोषणा गरिएको छैन।
अनमोल र हेमराजले फिल्म ‘होस्टेल’ बाट आफ्नो करिअर सुरु गरेका थिए। उनीहरूले ‘जेरी’ र ‘गाजलु’ मा पनि सहकार्य गरेका थिए। ‘जेरी २’ मा अनमोल र हेमराजको ६ वर्षपछि सहकार्य हुन लागेको हो।
अनन्या फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मलाई सरोज न्यौपानेले निर्माण गर्नेछन्। सरोजले यसअघि हेमराज निर्देशित फिल्म ‘सम्बोधन’ र ‘द ब्रेकअप’ मा लगानी गरिसकेका छन्।