सामाजिक न्याय र मानव अधिकारलाई प्रश्रय गर्ने उद्देश्यले नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १० औं संस्करण आयोजना हुने भएको छ।
मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा पुस ३ देखि ६ (१८–२१ डिसेम्बर) सम्म काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको हलमा महोत्सव सञ्चालन हुनेछ।
महोत्सवको उद्घाटन, लाइभ सांगीतिक कार्यक्रमसहित राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले गर्नेछन्।
‘जलवायु परिवर्तन र पर्यावरण न्याय’ को नारासहित आयोजना गरिने महोत्सवको उद्घाटनमा शान्ता नेपाली निर्देशित वृत्तचित्र ‘क्लाइमिङ ट्याम्पेचर्स, टप अफ द वर्ल्ड’ देखाइने छ।
महोत्सवको समापन समारोहमा दिपक रौनियार निर्देशित सर्ट फिल्म ‘फोर नाइट्स’ प्रदर्शन गरिनेछ।
विश्वभरबाट खुला आवेदन संकलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसनलगायत नेपालसहित २५ देशका ६४ वटा फिल्महरू महोत्सवमा देखाइने छ।
यस वर्ष महोत्सवमा नेपालबाट निर्देशक अभिनाश विक्रम शाह, भातरबाट लेखक तथा निर्देशक अनिर्वाण भट्टचार्य, कोरियाबाट मावन अधिकार अभियान्ता तथा महोत्सव निर्देशक सु-ली दिलबर र इजरायलबाट लेखक तथा निर्देशक ओश्रा स्वार्ज रेम जुरीको रुपमा रहेका छन्।
महोत्सवमा प्रर्दशन गरिने चार विधाका उत्कृष्ट फिल्मलाई नगदसहित अवार्ड प्रदान गरिने छ। त्यस्तै महोत्सवमा एकजना उत्कृष्ट नेपाली महिला निर्देशकलाई अवार्ड प्रदान गरिने छ।
महोत्सवमा ‘लुकेरा बसेका कथाहरूलाई कसरी वृत्तचित्रमा प्रस्तुत गर्ने?’ भन्ने विषयमा मास्टर क्लासको आयोजना गरिने भएको छ। मास्टर क्लास भारतीय वृत्तचित्र निर्देशक अनिर्वाण भट्टचार्यले दिनेछन्।
त्यस्तै महोत्सवमा ‘जलवायु परिवर्तन र न्याय सम्बन्धी’ विषयमा मानव अधिकारकर्मी, जलवायुसम्बधी विज्ञ, फिल्मकर्मीसँग प्यानल छलफल पनि राखिएको छ।
महोत्सवमा प्रत्येक दिन फिल्म प्रदर्शनपछि मानव अधिकारकर्मी, फिल्म पारखी एवं कलाकर्मीहरूबीच अन्र्तक्रिया पनि गरिने छ।
महोत्सवको सह-आयोजकको रुपमा राष्ट्रिय मानव अधिकार आयोग रहने छ।
महोत्सवमा युरोपियन युनियन नेपाल, नेपालका लागि अष्ट्रेलियाली दूतावास, इन्टरनेश्नल कमिसन अफ ज्युरिस्ट’ आइओएमलगायत विभिन्न संघसंस्थाको सहयोग रहनेछ। त्यस्तै महोत्सवमा नेपाल चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड र रिपोटर्स क्लबको सहकार्य रहेको छ।