एक महिने सांगीतिक यात्रामा निस्किएको नेपथ्यले धनगढीमा कन्सर्ट सम्पन्न गरेको छ।
'मानवताका लागि संगीत' अभियानका साथ देश दौडाहामा निस्केको नेपथ्यले छैठौं कन्सर्ट सम्पन्न गरेको हो।
दुइटा म्युजिक भिडिओ देखाएपछि मञ्चमा चढेको नेपथ्य टोलीले ‘आँगनैभरि हिउँनै झरे’ बाट धनगढीमा आफ्नो प्रस्तुति प्रारम्भ गरेको थियो।
दोस्रो गीत थियो ‘भेँडाको ऊनजस्तो’। त्यसपछि ब्याण्डले ‘छेक्यो छेक्यो, लमपाते सुरती, मीन पचास, चरी मर्याे, जोमसोम बजारमा, शिरफूल शिरैमा, गाउँ गाउँबाट उठ’ जस्ता गीत गाएका थिए।
अन्त्यमा भने सँधैजस्तै नेपथ्यले ‘रातो र चन्द्रसूर्जे’ बोलको गीत प्रस्तुत गरेको थियो। त्यतिबेला मुलुकप्रतिको भावनाले ओतप्रोत दर्शकहरू जताततै राष्ट्रिय झण्डा बोकेर नृत्य गरिरहेका थिए।
मञ्चमा गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।
धनगढीको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली वीरेन्द्रनगर सुर्खेततर्फ प्रस्थान गरेको छ। मानवसेवा आश्रमकै आयोजनामा सुर्खेतस्थित खुलामञ्चमा नेपथ्य पुस ६ गते बुधबार प्रस्तुत हुँदैछ।