बुटवलमा नेपथ्यको मानवताका लागि सांगीतिक यात्रा लिएर चर्चित नेपथ्य ब्याण्डको सांगीतिक टोली बिहीबार बुटवल आउँदै छ।
मानव सेवा आश्रमले नेपालको चर्चित ब्याण्ड नेपथ्यसँगको सहकार्यमा यही पुस ९ गते शनिबार साँझ बुटवलमा सांगीतिक कार्यक्रम गर्दैछ।
चर्चित गायक अमृत गुरूङ र नेपालयका किरण श्रेष्ठ, अर्पण शर्मासहित प्राविधिक समेत गरी ७० जनाको टोली सांगीतिक कार्यक्रमको लागि बुटवल आउन लागेको हो।
घर परिवारबाट अपहेलित बनेका असहाय तथा बेसहारा मानिसहरूलाई आश्रय दिइरहेको मानव सेवा आश्रम बुटवलले आश्रमको भवन निर्माण र उनीहरूको स्वास्थ्य उपचारको लागि आपतकालीन कोष निर्माण गर्ने उद्देश्यले नेपथ्यसँगको सहकार्यमा सांगीतिक कार्यक्रम आयोजना गरेको जनाएको छ।
मानव सेवा आश्रम बुटवल शाखाका अध्यक्ष एवं कार्यक्रम संयोजक लोकनाथ भुसालले आश्रममा आश्रित मानिसहरूको सहयोगसँगै सांगीतिक मनोरञ्जन प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
आश्रमको बुटवल शाखाले अशक्त, असहाय, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर रहेका १ सय ६० भन्दा बढी व्यक्तिहरूको उद्धार गरी परामर्श र उपचारसँगै संरक्षण गर्दै आएको छ।
आश्रमको बुटवल शाखाकी प्रमुख सरु अधिकारीले आश्रमको भवन निर्माणलाई पूर्णता दिन र आश्रितहरूको स्वास्थ्य उपचारमा सहयोग पुगोस् भनी आयोजना गरिएको कार्यक्रममा सहयोग पुर्याउन आग्रह गरिन्।
कन्सर्टमा गायक अमृत गुरूङले मानवता झल्किने र मानवता प्रवर्द्धनमा सहयोग पुग्ने गीतसँगै नेपथ्य ब्याण्डका चर्चित सांगीतिक प्रस्तुति दिनेछन्।
सांगीतिक कार्यक्रम अवलोकनका लागि १ हजार रुपैयाँको टिकटको व्यवस्था गरिएको मानव सेवा आश्रमका महासचिव शुशिला केसीले जानकारी दिइन्।
केसीका अनुसार बुटवलमा हुने सांगीतिक कार्यक्रमका लागि ६ हजार टिकट बिक्री गरिने छ।
हालसम्म २ हजार ५ सयभन्दा बढी टिकट विक्री भइसकेको छ।
मानव सेवा आश्रमको सहयोगका लागि मुलुकका १० वटा ठूला सहरहरूमा कन्सर्ट सुरू गरेको नेपथ्यले यसअघि विभिन्न ६ वटा स्थानमा कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ।
मंसिर १६ गते विराटनगरबाट सुरू गरिएको सांगीतिक अभियान यसअघि वीरगंज, हेटौंडा, नारायणघाट, नेपालगञ्ज र धनगढीमा सम्पन्न भइसकेको छ।
बुधबार सुर्खेतमा कार्यक्रम हुँदैछ भने सुर्खेतपछि बुटवल, पोखरा र अन्तिममा काठमाडौंमा पुगेर पुस १६ गते अभियानको समापन गरिने आयोजकले जनाएको छ।