राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको ८ औं केन्द्रीय महाधिवेशन फागुनमा हुने भएको छ।
मंगलबार बसेको प्रतिष्ठानको विशेष बैठकले आगामी फागुन १२ देखि १४ गतेसम्म धादिङको सदरमुकाम धादिङवेशीमा महाधिवेशन गर्ने निर्णय गरिएको हो।
प्रतिष्ठानका अध्यक्ष रमेश बिजीका अनुसार बैठकमा महाधिवेशनको मिति तोक्नुका साथै अन्य केही महत्वपूर्ण निर्णयहरू समेत गरेको छ।
नव निर्वाचित जिल्ला, समन्वय, विदेश एवं प्रदेश शाखाका अध्यक्षहरूलाई बधाई तथा संस्थागत प्रशिक्षण कार्यक्रमको मिति समेत तय गरिएको छ।
माघको ६ र ७ गते चितवनको सौराहामा उक्त कार्यक्रम हुने प्रतिष्ठानले जनाएको छ। संस्थापक अध्यक्ष अमर विरही गुरुङलाई सम्मान स्वरूप मासिक ५ हजार रुपैयाँ संस्थागत सेवा भत्ता आजीवन प्रदान गरिने महत्वपूर्ण निर्णय समेत प्रतिष्ठानले गरेको छ।
तीन वर्षअघि पोखरामा सम्पन्न प्रतिष्ठानको सातौं महाधिवेशनबाट रमेश बिजी अध्यक्षमा निर्वाचित भएका थिए। त्यसअघि बद्री पंगेनी दुई कार्यकाल अध्यक्ष थिए।