नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलकाे १० औं संस्करणमा नेपालीतर्फ दुई फिल्म उत्कृष्ट घोषित भएका छन्।
नेपाल पानारोमातर्फ दिपक रौनियार निर्देशित फिल्म 'फोर नाइट्स' उत्कृष्ट फिक्सन फिल्म र डकुमेन्ट्री विधातर्फ अनिल बुढामगर निर्देशित ‘आग्रे’ (आइरन डिगर) उत्कृष्ट घोषित भएको हो। यी दुई फिल्मले अवार्डसहित जनही ५० हजार नेपाली रुपैयाँ हात पारेका छन्।
बगंलादेशी निर्देशक जुबोराज सामिमको फिल्म ‘द इन्सटिन्क्ट’ अन्तर्राष्ट्रिय फिक्सन विधातर्फ उत्कृष्ट भएको छ। त्यस्तै अन्तर्राष्ट्रिय नन-फिक्सन प्रतिस्पर्धातर्फ फिनल्यान्डका निर्देशक लिरिस हेर्माको डकुमेन्ट्री ‘सेपहर्डस अफ द अर्थ’ उत्कृष्ट भ्एको छ। यी दुई फिल्मले अवार्डसहित नेपाली ५० हजार रुपैयाँ हात परेका छन्।
त्यस्तै महोत्सवमा सम्राट खनाल निर्देशित फिल्म ‘थ्रु द सिंगिंग भिलेजेज एण्ड डेथ्स् अन एक्सप्लेन्ड’, पिंकी श्रीस राना र एलएसएमको ‘हजुर’, रुसी फिल्ममेकर डेर्या डेनिजको 'हेजा' (स्ट्रेन्थ), टर्किस् फिल्ममेकर सेरहत कारास्लान्टको ‘द क्रिमिनल्स’, जर्मनको फिल्ममेकर सेन्गिज अकेगनका ‘आयसा’ र अमेरिकी फिल्ममेकर किरा डेन तथा काटोल्यन रोबेलोको संयुक्त निर्देशन बनेको ‘मिजुको’ ले विभिन्न विधामा स्पेसल मेन्सन अवार्ड पाएका छन्।
महोत्सवको १० औं संस्करणमा २५ देशका ६४ फिल्म प्रदर्शन गरिएको थियो। ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’ को नारासहित पुस ३ देखि ६ गतेसम्म काठमाडौंको नेपाल पर्यटन बोर्ड र रिपोर्टस् क्लबको हलमा फिल्महरू प्रदर्शन गरिएको थियो।
बुधबार नेपाल पर्यटन बोर्डमा समापन समारोहमा दीपक रौनियकर ‘फोर नाइट्स’ प्रदर्शन गरिएको थियो। यसअघि उद्घाटनका दिन ३ पुसमा शान्ता नेपाली निर्देशित वृत्तचित्र ‘क्लाइमिङ ट्याम्पेचर्सः टप अफ द वर्ल्ड’ देखाइएको थियो।