नेपथ्यले बुटवलमा उल्लेख्य दर्शकको उपस्थितीबीच कन्सर्ट सम्पन्न गरेको छ।
देश दौडाहमा रहेको लोकरक ब्याण्डले शनिबार बुटवलस्थित ‘रामनगर खेलमैदान’ मा कन्सर्ट सम्पन्न गरेको हो।
यसअघि नेपथ्य ७ पटक आफ्नो प्रस्तुती लिएर उपस्थित भइसकेको छ। विराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगञ्ज, धनगढी र सुर्खेतपछि यो आठौं प्रस्तुती हो।
सुरूमा दुइटा म्युजिक भिडिओ देखाएपछि ब्याण्डले पहिलो प्रस्तुतिका रुपमा ‘आँगनै भरि हिउँ नै झरे’ गीत सुनाएको थियो। नेपथ्यका प्रमुख गायक अमृत गुरुङले झण्डै २ दर्जनभन्दा धेरै गीत प्रस्तुत गरेका थिए।
मञ्चमा गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।
‘संगीतका साथै मानवता प्रवर्द्धन’ का अभियानसहित बुटवलमा लगातार आठौं सफलता पाएकोमा मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले खुशी व्यक्त गरे।
‘बुटवल सडकमा आश्रित आमाबुवाहरूलाई व्यवस्थित छाना र खानाको प्रबन्ध गर्न हामी सफल भइसकेका छौं,’ उनले भने, ‘आफ्नै भवन बनाएर संस्थागत तुल्याउने लक्ष्यअनुसार कन्सर्टको आयोजना गरेका हौं।’
बुटवलको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली आइतबार पोखरातर्फ प्रस्थान गरेको छ। मानवसेवा आश्रमकै आयोजनामा नयाँबजारस्थित ‘प्रदर्शनी केन्द्र’ मा नेपथ्य पुस १२ गते मंगलबार प्रस्तुत हुँदैछ।
सबै तस्बिर: दिपित राज