अभिनेत्री विपना थापा १६ वर्षपछि फिल्ममा कमब्याक गर्दैछिन्। उनले चन्द्र पन्तकाे निर्देशन रहने फिल्म ‘ह्रस्व दीर्घ’ बाट कमब्याक गर्न लागेकी हुन्।
फिल्ममा अनुबन्धित गराएको जानकारी दिँदै निर्देशक पन्तले भने, ‘उहाँले फिल्ममा काम गर्ने पक्का भइसक्यो। हामीले फोनमा कुराकानी गरेर उहाँलाई अनुबन्ध गराएका हौं। फिल्मलाई लिएर उहाँ पनि उत्साहित हुनुहन्छ।’
फिल्ममा चार जनाको मुख्य भूमिका छ। त्यसमध्ये एक पात्रको रुपमा विपना थापालाई देख्न सकिन्छ।
निर्देशक पन्तका अनुसार फिल्मको दुई चरणमा छायांकन हुनेछ। पहिलो चरणको छायांकन माघ १५ गतेदेखि भारतको रामोजी स्टुडियोबाट सुरु गर्ने तयारी छ। दोस्रो चरणको छायांकन नेपालमा हुनेछ।
विपना पछिल्लो समय फिल्म ‘संघर्ष जिन्दगीको’ मा देखिएकी थिइन्। भारतका आशुतोष भारद्वजसँग विवाह गरेपछि उनी फिल्मबाट टाढिएकी हुन्।
यसअघि ‘ह्रस्व दीर्घ’ मा भारतीय कलाकारहरू ब्रह्मानन्दम, सुनिल वर्मा, प्रदीपराज रावत र अली अनुबन्धित भइसकेका छन्।
हास्य अभिनयबाट चर्चित ब्रह्मानन्दमले संसारमै सबभन्दा धेरै फिल्म खेल्ने जीवित कलाकारका रूपमा गिनिज वर्ल्ड रेकर्ड राखेका छन्। सन् असी दशकको मध्ययता तमिल र तेलुगू भाषामा बनेका प्रायः फिल्ममा उनले आफ्नो उपस्थिति देखाउँदै आएका छन्।
सुनिल आफ्नो पछिल्लो फिल्म ‘पुष्पा’ बाट चर्चामा छन्। यो फिल्मले नेपालमा पनि राम्रो व्यवसाय गरेको थियो। त्यस्तै प्रदीपराजले ‘गजिनी’ को खलनायक भूमिकाबाट निकै चर्चा कमाएका थिए। अली दक्षिण भारतीय फिल्मका चर्चित हास्य कलाकार हुन्।
नीता फिल्म्सको ब्यानरमा बन्न लागेको फिल्ममा अभिनेत्री नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल र सलोन बस्नेतको पनि मुख्य भूमिका रहनेछ।
नेपाली र हिन्दी भाषामा एकसाथ निर्माण हुने फिल्म नेपाल, भारतको बनारस र युरोपका विभिन्न देशमा छायांकन हुनेछ।