नेपालकै पहिलो कवितामा आधारित रियालिटी शो ‘द पोयट आइडल’ बिहिबारदेखि प्रसारण हुने भएको छ।
अमनप्रताप अधिकारीले निर्देशन गरेको शोको प्रसारण भोलि राति साढे ८ बजेबाट हुने भएको हो।
यो शो हरेक साता बिहीबार र शुक्रबार एपी वान टेलिभिजनबाट प्रशारण हुने आयोजकले जनाएको छ।
त्यस्तै ओएसआर रियालिटीको युट्युब च्यानलमा पनि प्रसारण हुनेछ।
असोज अन्तिमसम्म भएको अडिसनमा नेपालबाट १ सय ६२ जना छानिएका थिए। यस्तै ५० जनाले विदेशबाट पनि अडिसन दिएका थिए।
डिजिटल अडिसनबाट छानिएका सहभागीबाट विभिन्न चरण पार गर्दै १४ जना कवि छानिनेछन्।
प्रस्तुति जाँच्ने निर्णयक मण्डल र दर्शकहरूले आफूलाई मन परेका प्रतिस्पर्धी कवि, कवयित्रीलाई भोट हाल्न पाउने छन्।
अन्तिम १४ बाट हरेक हप्ता एक जना प्रतिस्पर्धी बाहिरिने र अन्तिममा एक जना ‘द पोयट आइडल’ बन्नेछन्।
प्रतियोगिताको निर्णायक मण्डलमा कविद्वय विप्लव प्रतीक, उपेन्द्र सुब्बा, निर्देशक तथा रंगकर्मी अनुप बराल र अभिनेत्री सुरक्षा पन्त छन्।
कार्यक्रम अभिनेता दिव्यदेव पन्तले सञ्चालन गर्नेछन्।
‘द पोयट आइडल’को विजेता कविले १० लाख रूपैयाँ नगद पाउने छन्।
साथै, यात्रा पब्लिसिङ्ग हाउसले विजेता कविको ५ लाख बराबरको कवितासङ्ग्रह प्रकाशन गर्नेछ।