अभिनेता रामचन्द्र अधिकारी चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमा रकम पाउने पहिलो कलाकार बनेका छन्।
सरकारले विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गर्ने कलाकारलाई स्वास्थ्य बीमा सुविधा दिने घोषणा गरेको थियो। उनले दाबी गरे अनुसार राष्ट्रिय बीमा कम्पनीले ४६ हजार ६०० रूपैयाँ प्रदान गरेको हो।
बीमा रकम लिँदै कलाकार अधिकारीले भने, ‘चलचित्र विकास बोर्डले चलचित्रकर्मीलाई गरेको यो सहयोगलाई मैले एक जीवनदानको रुपमा हेरेको छु। यो सुविधा आवश्यक पर्दा सबैले सजिलै पाउन सकून्।’
काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमबीच चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अधिकारीलाई बीमा रकम हस्तान्तरण गरेका हुन्। उक्त कार्यक्रममा कलाकारहरू मदनदास श्रेष्ठ, दिनेश डिसी, पूजा शर्मा, बोर्ड सदस्य प्रकाश भट्टराईलगायत उपस्थित थिए।
विशिष्ट चलचित्रकर्मी परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीहरूलाई बोर्डले विभिन्न किसिमका सुविधा प्रदान गर्ने योजनाअनुरुप स्वास्थ्य बीमाको कार्यक्रम राखेको हो। विशिष्ट परिचयपत्र प्राप्त गर्ने जम्मा १०२ जना चलचित्रकर्मी मध्ये ९८ जनाको बीमा गरिएको थियो।
विशिष्ट श्रेणीका चलचित्रकर्मी प्राविधिक उद्धवराज भट्टराई, हरिप्रसाद रिमाल, लेखक तथा निर्देशक चेतन कार्की, कलाकार सुभद्रा अधिकारी र प्राविधिक गेहेन्द्र धिमालको मृत्यु भइसकेको छ।
चालु बीमा कार्यक्रमअन्तर्गत अस्पतालमा भर्ना भई उपचार गर्नुपर्दा ६५ हजार रुपैयाँ र भर्ना नभई उपचार गर्नुपर्दा ३५ हजार रुपैयाँसम्म गरी जम्मा एक लाख रुपैयाँ प्राप्त गर्न सकिन्छ।
राष्ट्रिय बीमा कम्पनीका प्रतिनिधि धर्म भण्डारीले यो बीमा सुविधा लिन योग्य सबैलाई रकम दाबी गर्न अनुरोध गरेका छन्।
बीमा गरेको ७ महिनापछि एक जनाले मात्रै दाबी गरेको बताउँदै उनले थोरै नै रकम भए पनि दाबी पेश गरेपछि २४ घण्टाभित्र चलचित्र विकास बोर्डमा उक्त रकम उपलब्ध गराउने जानकारी दिए।