चलचित्र विकास बोर्डले अन्तर्राष्ट्रिय फिल्म महोत्सव 'नेपाली सिनेमा फेस्ट २०२३' आयोजना गर्ने भएको छ।
‘टेकिङ नेपाली सिनेमा टु दि वर्ल्ड’ भन्ने नारासहित आयोजना गर्न लागेको फेस्टिभलको लागि बोर्ड र सूर्य कर्पोरेशनबीच सम्झौता भएको छ।
बिहीबार बोर्डले पत्रकार सम्मेलन आयोजना गर्दै कार्यक्रमको व्यवस्थापन कर्पोरेशनलाई दिने गरी बोर्ड अध्यक्ष भुवन केसी र कर्पोरेशनका सिइओ वासुदेव लामिछानेबीच सम्झौता गरेको हो।
दुबईमा आगामी फागुन १ देखि ३ गतेसम्म यो कार्यक्रमको आयोजना हुँदैछ।
सूचना तथा संचार प्रविधि मन्त्रालयका सचिव र चलचित्र विकास बोर्डका अध्यक्षबीचको कार्ययोजनाअनुसार बोर्डको वार्षिक कार्यक्रमअन्तर्गत निजी क्षेत्रसँगको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरमा कार्यक्रम आयोजना हुने शीर्षकमा यो कार्यक्रम आयोजना हुन लागेको हो।
यो कार्यक्रम चलचित्र विकास बोर्डद्वारा आयोजना हुने अन्तर्राष्ट्रियस्तरको पहिलो कार्यक्रम हो।
तीन दिनको कार्यक्रममा अरबी भाषामा सबटाइटल प्रयोग गरी नेपाली फिल्मको प्रदर्शनी, नेपालबाट जाने तथा दुबईमै रहने कलाकारहरूको विभिन्न प्रस्तुती, युएईमा नेपाली फिल्मको बजार विस्तार तथा छायांकन सुविधा पहलको लागि त्यहाँको सरकारका प्रतिनिधिहरू, त्यहाँस्थित नेपाली दूतावास, व्यापारी, विशिष्ट व्यक्तिहरू तथा कलाकर्मीहरूबीच अन्तरक्रिया हुनेछ।
महोत्सवमा सहभागी हुन नेपालबाट ३५ जनाको टोली जानेछन्।
कार्यक्रममा ‘फिल्मीङ डेष्टिनेशन अफ नेपाल’ परियोजनाअन्तर्गत गण्डकी प्रदेशको डकुमेन्ट्री दुबईका कुटनीतिक अधिकारीहरूको साथमा अरबी भाषामा सबटाइटल प्रयोग गरी प्रदर्शन हुनेछ।
कार्यक्रममा भुवन केसीले अन्तर्राष्ट्रिय स्तरमा नेपाली फिल्मको बजार विस्तार पहलको लागि अन्तर्राष्ट्रिय फिल्म महोत्सव गर्ने लागेका बताए।
‘नेपाली फिल्मलाई विश्व बजारमा विस्तार गर्ने यो पहिलो प्रयास हो। नेपाली फिल्मलाई माया गर्ने दाजुभाइ दिदीबहिनी दुबईमा हुनुहुन्छ। दुबईमा नेपाली फिल्म हेर्न सहज वातावरण मिलोस् भनेर हामीले पहिलो अन्तर्राष्ट्रिय फेस्टिभल त्यहाँ गरेका हौं,’ उनले भने।
बोर्डले दुबईपछि अन्य देशमा पनि कार्यक्रम गर्ने योजना बनाएको छ।