सेलेब्रेटी बैंकरको रूपमा चिनिएकी रवीना देशराज श्रेष्ठले बिहीबार आफ्नो प्रेमीको तस्बिर सार्वजनिक गरिन्।
उनले स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानको इन्स्टाग्राम ह्यान्डल मेन्सन गर्दै तस्बिर सार्वजनिक गरेकी हुन्। स्टुआर्ट बेलायती नागरिक हुन्।
उनी विश्व वन्यजन्तु कोषमा कार्यरत छन्। विश्व वन्यजन्तु कोषका अनुसार उनी ५ वर्षको उमेरदेखि नै प्रकृतिवादी बन्न चाहन्थे।
प्रकृति प्रेमी उनले सन् १९९१ मा चीनको वोलोङ पाण्डा रिजर्भमा रेन्जर ट्रेनरको रूपमा आफ्नो अन्तर्राष्ट्रिय करिअर सुरू गरे। दुई वर्ष त्यहाँ काम गरेपछि सन् १९९३ मा उनले विश्व वन्यजन्तु कोषमा काम गर्न थाले।
यस अवधिमा उनले वन्यजन्तु व्यापार अभियानविरुद्ध अभियान चलाउन टोलीसँग काम गरे। जसको परिणामस्वरूप सन् २०१३ मा थाइल्याण्डका प्रधानमन्त्रीले हात्तीको दाँतको व्यापारमा प्रतिबन्ध घोषणा गरेका थिए। सोही वर्ष उनी विश्व वन्यजन्तु कोषका निर्देशकको रूपमा नियुक्त भएका थिए।
२०१९ देखि २०२२ सम्म कोषले उनलाई जंगलका बाघको संख्या दोब्बर बनाउने लक्ष्यका साथ टाइगर्स अलाइभ इनिसिएटिभ लिडरको रुपमा नियुक्त गरेको थियो। यसैका लागि उनी अहिले नेपालमा काम गरिरहेका छन्।
उनलाई नयाँ प्रजातिका जंगली जनावरहरू खोज्न रूचि छ। उनी आफ्नो खाली समय पनि नयाँ प्रजातिका जनावर खोज्न खर्च गर्छन्। यसै क्रममा उनले ४१ प्रजातिमध्ये २५ प्रजातिका बिरालोलाई देखेका छन्।
यतिबेला रवीना र स्टुआर्ट दक्षिण अफ्रिकी टापु राष्ट्र मडागास्कार पुगेका छन्। उनीहरूसँगै स्टुआर्टका छोरा पनि छन्।
उनीहरूको तस्बिर स्टुआर्टले आफ्नो इन्स्टाग्राममा सार्वजनिक गरेका छन्।
उक्त तस्बिर सार्वजनिक गर्दै रवीनाले इन्स्टाग्राममा लेखेकी छन्, ‘साथीहरू, ३२ वर्षको बैंकिङ करिअरबाट बाहिरिएपछि मेरो जीवन मात्रै परिवर्तन भएको छैन। मेरा पुर्खाहरू र ब्रह्माण्डको आशीर्वादका कारण मैले एकदमै दयालु, सम्मानजनक, कुरा बुझ्ने र मायालु सहयात्री पनि पाएको छु। यो कुरा बाँड्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ।’
उनले तस्बिरमा भएका आफ्ना प्रेमीका बारेमा थप भनेकी छन्, ‘म आज घोषणा गर्छु, उहाँ नै हुनुहुन्छ जसका लागि मैले यतिका वर्षहरू प्रार्थना गरिरहेकी थिएँ। उहाँलाई भेटेदेखि कसरी मेरो हृदय पूर्ण रूपमा फक्रियो र खुल्यो भनेर म व्यक्त गर्न सक्दिनँ। म उहाँबाट हरेक दिन धेरै कुरा सिक्छु...।’
रवीनाले स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानको इन्स्टाग्राम ह्यान्डल मेन्सन गरेर 'आइ लभ यु’ पनि भनेकी छन्।
उनको पोस्टमा स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानले पनि 'आइ लभ यु टू’ लेखेका छन्।
आफ्ना प्रेमीलाई चिनाउन पाउन खुसी लागेको भन्दै रवीनाले सबैले आफूलाई शुभकामना दिनुहुनेछ भन्ने आशा रहेको पनि बताएकी छन्।
रवीनाले एक साताअघि मात्र मेगा बैंकबाट राजीनामा दिएकी हुन्। उनी बैंककी कायममुकायम कार्यकारी अधिकृत थिइन्।
रवीना कलाकार आयुष्मान र आशीरमानकी आमा तथा प्रियंका कार्कीकी सासू समेत हुन्।