विक्की महर्जनको निर्देशनमा बन्ने फिल्म 'द आउट ल' निर्माण घोषणा गरिएको छ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर फिल्म निर्माण घोषणा गरिएको हो। रेट्रो ग्रुपको ब्यानरमा निर्माण गर्न लागिएको फिल्ममा कानुन नमान्ने व्यक्तिको कथा देखाइनेछ।
शुक्रबार फिल्मको टिजर र फर्स्ट लुक पोस्टर समेत सार्वजनिक गरिएको छ।
एक्सन थ्रिलर फिल्ममा अभिनेता सुशील श्रेष्ठ, शिक्षा सङ्ग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरूङ, विशाल पहारी, महेश त्रिपाठीलगायत कलाकारको अभिनय रहनेछ। शिक्षा सङ्ग्रौला यही फिल्मबाट डेब्यू गर्दैछिन्।
सन् २०१५ मा ‘होस्टेल रिटर्न्स’ बाट अभिनय करिअर सुरू गरेका सुशीलले सायद २, कारखाना र बादशाह जुट जस्ता फिल्ममा अभिनय गरेका छन्।
शशांक खड्का र अमित अग्रहरीको लगानीमा निर्माण हुने फिल्मका कार्यकारी निर्माता विनोद कडायत हुन्।
निर्माता शशांकले फिल्मको छायांकनका लागि सम्पूर्ण तयारी पूरा भएको बताए।
'फिल्मको कथा दमदार छ। युवालाई लक्षित गर्दै फिल्मको कथा तयार पारिएको छ,' उनले भने।
यो फिल्म पुस २१ गतेदेखि छायांकनमा जानेछ। २ करोड बजेटमा बन्ने फिल्मलाई नविन गुरूङले छायांकन गर्नेछन्। फिल्म आगामी वर्षको दसैंमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ।